गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सोमबार बस्ने

वैशाख २३, २०७८ | पोखरा

केही दिनदेखि अन्योलमा रहेको गण्डकी प्रदेशको विशेष अधिवेशन आगामी सोमबारका लागि बोलाइएको छ । गण्डकी प्रदेश सचिवालयमा आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले विशेष अधिवेशनको मिति तय गरेको हो । सोही दिनमा सरकारविरुद्ध ल्याईएको अविश्वासको प्रस्तावमाथि मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

 वैशाख १३ देखि सुरु भएको गण्डकी प्रदेशसभाको विशेष अधिवेशन १५ गते अनिश्चितकालको लागि स्थगित गरिएको थियो । वैशाख १ मा जनमोर्चा र २ मा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, माओवादी र जसपाका २८ सांसदले वैशाख २ मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । वैशाख २ मै तीन दलले विशेष अधिवेशनको माग गर्दै तत्कालिन प्रदेश प्रमुख अमिक शेरचन समक्ष निवेदन बुझाए । 

सो अनुसार प्रदेश प्रमुख शेरचनले वैशाख १३ मा विशेष अधिवेशन आहावान गर्नुभएको हो । विशेष अधिवेशनको पहिलो दिनमै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वासको प्रस्ताव टेबुल गर्नुभएको थियो । बैशाख १४ को वैठकमा सत्तारुढ दलले सवै सांसदको पीसीआर परीक्षण गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गरेको थियो । 

यस्तै १५ गते दिउँसो १ बजेसम्म स्थगित भएर संचालन भएको वैठकमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही उपस्थिति नभएपछि राजमोकी सचेतक पियारी थापाले सांसदको खोजी गर्न माग गर्दै सचिवालयमा निवेदन दिनुभएको थियो । थापाले सांसदको अवस्था सार्वजानिक नभएसम्म संसद स्थगित गर्न माग गर्नुभएको थियो । जनमोर्चाको माग अनुसार संसद वैठक अनिश्चितकालको लागि स्थगित भएको थियो । पोखराको चरक मेमोरियल अस्पतालमा भेटिएका सांसद शाही अहिले पनि सोही अस्पतालमा उपचारत हुनुहुन्छ । 


प्रतिक्रिया