कोरोना परीक्षण गर्न रोल्पामा एन्टिजेन किट अभाव

वैशाख २५, २०७८ | रोल्पा

कोरोना भाइरस परीक्षण गर्नका लागि रोल्पामा एन्टिजेन किट अभाव भएको छ । किट अभावमा शंकास्पद संक्रमितको परीक्षण गर्न नसकिएको रोल्पा अस्पतालले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले केही साता अघि उपलब्ध गराएको ५० थान एन्टिजेन किट सकिएको अस्पतालका निमित्त प्रमुख डा.प्रकाश बहादुर बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एन्टिजेन किट सकिएको छ । बिरामीलाई अब परीक्षण गर्न सक्ने अवस्था छैन । सो किटबाट कोरोना संक्रमण भए नभएको पत्ता लगाउन सकिन्छ ।’ डा. बुढाले पीसीआर जाँच गर्न नभ्याइएको अवस्थामा एन्टिजेन किटको प्रयोगबाट संक्रमण पत्ता लगाउन सहयोग पुगेको बताउनुभयो । 

लुम्बिनी प्रदेश सरकारले जिल्लाका लागि पठाएको २ सय थान एन्टिजेन किट सबै वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जनस्वास्थ्य प्रमुख नोखराज पोखरेलले सबै स्थानीय तहलाई १५/१५ वटाका दरले किट वितरण गरिएको जानकारी दिनुभयो । रोल्पा अस्पताललाई ५० थान एन्टिजेन किट दिइएको उहाँले बताउनुभयो । 

जनस्वास्थ्य प्रमुख पोरखेलले भन्नुभयो, ‘डीसीसीएमसीको बैठक मार्फत हामीले एन्टिजेन किट र अन्य आवश्यक सामग्री माग गरी पठाएका छौं ।’ जनस्वास्थ्य प्रमुख पोरखेलका अनुसार कतिपय स्थानीय तहले भने एन्टिजेन किट आफैले खरिद गरी ल्याएका छन् । रोल्पामा एक नगरपालिका र ९ वटा गाउँपालिका छन् । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले कोरोना संक्रमण रोक्न आवश्यक सामग्री सरकारसँग माग गरिएको बताउनुभयो । 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक मार्फत् ४ हजार थान एन्टिजेन किट र ४ हजार थान पीपीई माग गरेको उहाँले बताउनुभयो । पर्याप्त मात्रामा पुग्ने गरी अक्सिजन सिलिन्डर र अक्सिजन कन्सन्ट्रेटर समेत माग गरिएको छ । जिल्लाका अधिकांश सक्रमितलाई होम आइसोलेसनमा राखिएको छ । रोल्पा अस्पतालमा परीक्षण गराएर संक्रमित भएकालाई भने नगरले स्थापना गरेको आइसोलेसन केन्द्रमा राखिएको छ । 

रोल्पा अस्पतालको सम्पर्कमा आएका संक्रमितको संख्या १२ जना भन्दा बढी भएको डा प्रकाशबहादुर बुढाले बताउनुभयो । रोल्पामा संक्रमितको अवस्था सामान्य रहेको छ । हालसम्म कोरोनाकै कारण आधा दर्जन संक्रमितको मृत्यु भईसकेको छ । अधिकांशको उपचार गर्ने क्रममा जिल्ला बाहिरै मृत्यु भएको हो ।


प्रतिक्रिया