सेती प्रादेशिक अस्पतालमा उपचाररत ७ जना संक्रमितको मृत्यु

वैशाख २६, २०७८ | धनगढी

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत मध्ये पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल अस्पतालमा ५४ जना संक्रमितको उपचार भईरहेको छ । 

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार आइतबार दिउँसोसम्म मृत्यु हुनेमा कैलालीका १ महिला र ४ पुरुष तथा कञ्चनपुरका १ महिला र २ पुरुष रहेका छन् । सूचना अधिकारी श्रेष्ठका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा कैलालीको लम्कीचुहा–९ का ४२ वर्षीया पुरुष, कञ्चनपुरको भीमदत्त–१८ की ६० वर्षीया महिला, कैलालीको धनगढी–४ की ३५ वर्षीया महिला र कैलालीको धनगढी–१८ का ५० वर्षीय पुरुष रहेका छन् । 

यस्तै, संक्रमणबाट कैलालीको गोदावरी–२ का ५८ वर्षीय पुरुष, कञ्चनपुरको पुनर्वास–११ का ७४ वर्षीय पुरुष र पुनर्वास–६ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा आइतबार दिउँसोसम्म उपचाररत ५४ जना संक्रमित मध्ये ५ जनाको भेन्टिलेटरमा, आइसीयूमा १८ जना र अक्सिजनको सपोर्टमा २६ जना तथा अन्य ५ जना रहेका छन् । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त २ जना डिस्चार्ज भएका छन् । ३ जना अस्पतालमा नयाँ संक्रमित भर्ना गरिएको श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा ६ सय २३ जनाको परीक्षण गरिएको छ । 

परीक्षण गरिएका मध्ये ३ सय २८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । कोरोना पोजेटिभ देखिएकामा धनगढी उपमहानगरपालिका क्षेत्रका १ सय ६० पुरुष र ८० महिला गरी २ सय ४० जना छन् । 

यस्तै, कैलालीका विभिन्न क्षेत्रका ४३ पुरुष र ३० महिला गरी ७३ जना तथा कैलाली बाहेक अन्य जिल्लाका ७ पुरुष र ८ महिला गरी १५ जना समेत जम्मा ३ सय २८ जना रहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका ६ सय २३ जना मध्ये २ सय ९५ जनामा कोरोना नेगेटिभ देखिएको श्रेष्ठले बताउनुभयो । 


प्रतिक्रिया