एसईई र कक्षा १२ को परीक्षा स्थगित

वैशाख २७, २०७८ | काठमाडौं

कोरोना भाइरसको महामारीका कारण राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । आज बिहान बसेको बोर्डको बैठकले आगामी जेठ १३ गतेबाट सञ्चालन हुने भनिएको एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना जारी नभएसम्मका लागि दुबै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्न पत्र छपाइको काम सकिएको बोर्डले जनाएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारीमा छन् । अवस्था नियन्त्रण बाहिर रहेकाले देशभरका २ हजार १९ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने निष्कर्ष निकालिएको बोर्डका सदस्यले बताएका थिए । जेठ २६ बाट हुने भनिएको कक्षा १२ को परीक्षामा करीब ४ लाख परीक्षार्थी छन् । यसवर्ष कक्षा १२ को हकमा अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ । 

गतवर्ष पनि कोरोना महामारीकाबीच अनलाइनबाटै प्रश्नपत्र पठाएर घरबाट पायक पर्ने परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । यो वर्ष इन्टरनेट सुविधा पुगेका निश्चित परीक्षा केन्द्रमा मात्रै प्रश्न पत्र पठाएर परीक्षा लिने तयारी गरिएको थियो । गतवर्ष पनि कोरोना महामारीका कारण एसईईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा बोर्डले नतिजा दिएको थियो । त्यस्तै बोर्ड बैठकले एसईई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने अध्ययन गर्न ५ सदस्यीय कार्यदल समेत गठन गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । 


प्रतिक्रिया