सेती प्रादेशिक अस्पतालमा ३ जना संक्रमितको मृत्यु

वैशाख ३०, २०७८ | धनगढी

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा ६७ जना संक्रमितको उपचार भइरहेको छ । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार बिहीबार दिउँसोसम्म मृत्यु हुनेमा कैलालीका ३ पुरुष रहेका छन् । 

मृत्यु हुनेहरुमा कैलालीको गोदावरी–३ का ३१ वर्षीय पुरुष, कैलाली धनगढी–२ का ४९ वर्षीय पुरुष र कैलालीको धनगढी–३ का ५२ वर्षीय पुरुष रहेको श्रेष्ठले बताउनुभयो । सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा बिहीबार दिउँसोसम्म ६७ जना संक्रमित मध्ये ५ जनाको भेन्टिलेटरमा, आइसीयूमा २० जना र अक्सिजनको सपोर्टमा ४५ जना तथा अन्य २ जनाको उपचार भईरहेको छ । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भएर ४ जना डिस्चार्ज भएका छन् । २७ जना अस्पतालमा नयाँ संक्रमित भर्ना गरिएको श्रेष्ठले जानकारी दिनुभयो । यसैगरि पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा ७ सय ७६ जनाको परीक्षण गरिएको छ । 

जसमध्ये २ सय ७० जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । पोजेटिभ देखिएकाहरुमा धनगढी उपमहानगरपालिका क्षेत्रका ७० पुरुष र ४८ महिला गरी १ सय १८ जना, कैलालीका विभिन्न क्षेत्रका ७३ पुरुष र २८ महिला गरी १ सय १ जना तथा अन्य जिल्लाका ३० पुरुष र २१ महिला गरी ५१ जना रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । 


प्रतिक्रिया