रोल्पा–प्युठानमा एन्टिजेन किट अभाव

वैशाख ३०, २०७८ | रोल्पा

रोल्पा र प्युठानमा कोरोना संक्रमण परीक्षण गर्ने एन्टिजेन किट अभाव भएको छ । दुबै जिल्लालाई प्राप्त किट प्रयोग भइसकेकाले शुक्रबारदेखि कोरोना संक्रमण परीक्षण गर्न समस्या हुने स्वास्थ्य कार्यालयले जनाएको छ । 

स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोखरेलले अस्पताल र स्थानीय तहलाई प्राप्त किट वितरण गरिसकेको र ती पनि प्रयोग भइसकेको जानकारी आएको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले रोल्पाका लागि २ सय थान एन्टिजेन किट पठाएको थियो । 

एन्टिजेन किटको परीक्षणबाट संक्रमण भए/नभएको बारेमा तत्काल रिपोर्ट थाहा पाउन सकिन्छ । संक्रमण परीक्षण गर्ने अर्को विधि पीसीआर परीक्षणको रिपोर्ट ढिलो आउने भएकाले यहाँ एन्टिजेन किटको प्रयोग प्रभावकारी मानिएको छ । 

समुदायमा संक्रमण फैलिएकोले तत्काल परीक्षण बढाउन एन्टिजेन किटको खाँचो भएको प्युठानका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज अर्यालले बताउनुभयो । अर्यालका अनुसार प्युठानका स्थानीय तह र अस्पतालले शुक्रबारदेखि किटको परीक्षण गर्न नसकिने जनाएका छन् । 

स्थानीय तहसहित प्युठानमा बनाएका ९ वटा कोभिड प्रभावित संक्रमित जाँच्न व्यवस्थापन गरिएका अस्पताल र आइसोलेसनमा कोरोना संक्रमितको उपचार भइरहेको छ । कोरोना संक्रमितको उपचार गर्न प्युठानमा ५० बेडको प्युठान अस्पतालमा र भिंगृस्थित २७ बेडको आइसोलेसन केन्द्र निर्मण गरिएको छ । 

बिहीबारसम्म प्युठानमा ३१ जनालाई अक्सिजन दिएर आइसोलेसनमा उपचार गरिएको छ । होम आइसोलेसनमा ५ सय ८१ जना छन् । प्युठानमा भएका करीब ८० वटा अक्सिजन सिलिन्डरमध्ये २५ वटा बचत छन् भने रोल्पामा ल्याइएका ५० जान अक्सिजन सिलिन्डरमध्ये आधा जति प्रयोग भइसकेको छ । 

दुबै जिल्लाले आवश्यक स्वास्थ्य सामग्री अभाव भएको बारे जानकारी गरिसकोका छन् । प्युठानले नवनियुक्त प्रदेश मन्त्री हरि रिजालको उपस्थितिमा बसेको बैठक मार्फत एक हजार जान अक्सिजन सिलिन्डर र ५ हजार थान एन्टिजेन किट माग गरेको थियो । 

यस्तै प्रमुख जिल्ला अधिकारी संयोजक रहेको रोल्पास्थित जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले रोल्पाका लागि ४/४ हजार थान अक्सिजन सिलिन्डर र एन्टिजेन किट माग गरेको थियो । 


प्रतिक्रिया