रसुवागढी नाका १५ सय थान अक्सिजन सिलिन्डर भित्रियो

जेष्ठ १८, २०७८ | रसुवा

नेपाललाई चीनले अनुदानमा दिएको १ हजार ५ सय थान अक्सिजन सिलिन्डर रसुवागढी नाकाबाट नेपाल भित्रिएको छ । चीन सरकारले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर अनुदानमा दिने घोषणा गरेको मध्ये एक हजार ५ सय थान आज मुलुक भित्रिएको हो । 

केही थान अक्सिजन सिलिन्डर हवाइ मार्ग हुँदै नेपाल भित्रिसकेको छ । अक्सिजन सिलिन्डरसँगै ५ लाख २७ हजार ५ सय थान एन–95 मास्क पनि नेपाल भित्रिएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो । 

चिनियाँ चार वटा कन्टेनरमा अक्सिजन सिलिन्डर र एन–95 मास्क आयात भएको भन्सार कार्यालयले जनाएको छ । अक्सिजन सिलिन्डर र मास्क आजै काठमाडौं पठाइने भन्सार कार्यालयले जनाएको छ । पछिल्लो समय रसुवागढी नाकाबाट स्वास्थ्य सामग्री, हार्डवयर र फलफूल आयात भइरहेको प्रमुख भन्सार अधिकृत रेग्मीले बताउनुभयो । 

कोरोना भाइरसको महामारी सुरु भएदेखि नै रसुवागढी नाका भएर चीनबाट हुने वस्तु आयात प्रभावित बनेको छ । नाकाबाट हुने आयातमा कमी आएसँगै राजस्व संकलन पनि प्रभावित भएको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिनुभयो ।


प्रतिक्रिया