पहिरोले विस्थापित ३१ परिवार विद्यालयको आश्रयमा

रेडियो कान्तिपुर संवाददाता

असार ७, २०७८ | पर्वत

अबिरल वर्षापछिको पहिरोका कारण पर्वतको जलजला गाउँपालिका ७ धाईरिङका ३१ परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई नजिकको अमर आधारभूत विद्यालयमा राखिएको छ । धाईरिङको किराखोरमा रहेको सिंगो दलित वस्ती पहिरोको जोखिममा परेको हो । 

पहिरोका कारण अधिकांश घर बस्न नहुने भएपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको हो । यद्यपि विद्यालयको भवन समेत जीर्ण भएका कारण उनीहरु खुल्ला चौरमा टेन्ट टाँगेर बस्न बाध्य छन् । वर्षातको समयमा घर छाडेर खुल्ला चौरमा बस्नु पर्दा सुत्केरी, बालबालिका र जेष्ठ नागरिक बढी प्रभावित भएका छन् । 

वस्तीका कुनै पनि घर बस्न योग्य नरहेको स्थानीय दुर्गा दर्जीको भनाई छ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका प्रतिनिधिले अहिलेसम्म आश्वासन मात्र दिएको पीडित परिवारले गुनासो गरेका छन् । 


प्रतिक्रिया