नौगाडमा पहिरोमा पुरिएर २ को मृत्यु, एक जना बेपत्ता

असार २४, २०७८ | दार्चुला

दार्चुलाको नौगाड गाउँपालिका–३ जामिरमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएरका तीन मध्ये दुईको शव फेला परेको र उनीहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । 

खारको गुन्ढाडु खोला, खारखोलाले पारिखार, सितोलि बगड, ओखलधार र गुन्ढारु खोलाले जामिरको लघु–जलविद्युत, पुल लगायत संरचनामा क्षति पुर्‍याएको छ । प्रहरीका अनुसार जामिरका स्थानीय नन्दु ठगुन्ना र गोठे टमटाको घरमा क्षति पुर्‍याएको छ । 

बुधबार रातिको अबिरल वर्षापछि खसेको पहिरोका कारण घरहरुका साथै स्थानीय लघुजलविद्युत आयोजनामा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

अहिले स्थानीयका साथै दल्लेख प्रहरी चौकीका साथै जिल्ला सरमुकामबाट प्रहरी र सशस्त्रको टोली उद्धारका लागि घटनास्थल गईरहेको प्रहरीको भनाइ छ । पारिखार, सितोली बगड, ओखलधार र गुन्ढारु खोलाले जामिर लघुजलविद्युत् तथा जामिर झोलुंगे पुल बगाएको छ । 

खार खोलाले नौगाड खोला थुनिएको छ । नौगाड गाउँपालिका–६ धुलिगडा क्षेत्रमा पनि पहिरो खसेको छ । धुलिगडा होपरीगाड सडक खण्डमा खसेको पहिरो डोजर लगाएर पन्छ्याउने कार्य भइरहेको छ । गएरातिको वर्षाका कारण खार खोला सहित अन्य खोलामा पानीको सतह बढेको स्थानीयहरुले बताएका छन् । 


प्रतिक्रिया