राष्ट्रिय आविष्कार केन्द्रद्वारा थबाङमा अक्सिजन प्लान्ट जडान

असार २८, २०७८ | रोल्पा

राष्ट्रिय आविष्कार केन्द्रको पहलमा रोल्पाको थबाङमा सञ्चालित कोभिड–१९ उपचार केन्द्रमा नि:शुल्क अक्सिजन प्लान्ट जडान गरिएको छ । काठमाडौंको कीर्तिपुरस्थित केन्द्रले आफ्ना प्राविधिक पठाएर थबाङ गाउँपालिकाद्वारा सञ्चालित उपचार केन्द्रमा प्लान्ट जडान गरिदिएको हो । 

गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगरले आविष्कार केन्द्रले नि:शुल्क रुपमा अक्सिजन प्लान्ट जडान गरिदिएको बताउनुभयो । केन्द्रले मिनि अक्सिजन प्लान्ट स्थापना र जडान गर्न १९ लाख ७४ हजार १० रुपैयाँ खर्च गरेको हो । 

प्लान्ट जडान गर्न केन्द्रका अध्यक्ष महावीर पुनले बायोमेडिकल इन्जिनियर उमेश राई नेतृत्वको ७ सदस्यीय प्राविधिक टोली थबाङ पठाएका थिए । प्राविधिकले प्लान्ट जडान गरी गाउँपालिकालाई हस्तान्तरण गरेको हो । 

प्लान्टबाट विद्युत आपूर्ति हुन नसकेको अवस्थामा पनि ४७ लिटरका २ वटा अक्सिजन सिलिन्डर भर्न सकिने केन्द्रका प्राविधिकले जनाएका छन् । प्लान्टबाट प्रतिमिनेट ६५ लिटर अक्सिजन उत्पादन हुनेछ । 

विद्युत आपूर्तिमा समस्या आउँदा पनि स्वचालित हुन सक्ने विकल्प सहितको प्लान्ट स्थापना गरिएको प्राविधिकले जनाएका छन् । जिल्लामा रोल्पा अस्पतालसहित सबै स्थानीय तहले आइसोलेसन केन्द्र स्थापना गरेका छन् । 

केन्द्रको पहलमा यसअघि स्याङ्जा, गोरखा, खोटाङ, सल्यान र कैलालीमा अक्सिजन मिनी प्लान्ट जडान गरिएको थियो । थबाङमा सञ्चालित आइसोलेसन केन्द्रमा रहेका २० मध्ये ११ वटामा बेडमा सो अक्सिजन मिनि प्लान्टबाट एकैसाथ अक्सिजन प्रवाह गर्न सकिने गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया