बाढीले चन्द्र नहर भत्कायो, सप्तरीका ५ सय बढी घर डुबानमा

श्रावण ५, २०७८ | राजविराज

सप्तरीको सप्तकोशी नगरपालिका–४ स्थित मुलुककै सबैभन्दा पुरानो चन्द्र नहर बाढीले भत्काई दिएको छ । अमहा, टेंग्रा लगायत खोलामा आएको बाढीले सप्तकोशी–४ का २ स्थानमा चन्द्र नहर भत्काएको नगरपालिकाका प्रमुख उत्तम गौतमले बताउनुभयो । 

उहाँका अनुसार २ स्थानमा गरी करीब ५० मिटर नहर भत्काएको छ । गौतमले भन्नुभयो, ‘जंगली क्षेत्रबाट अमहा, टेंगा्र लगायतका नदीको बाढी आएर ओभर फ्लो भई नहरमा खसेको र त्यसपछि नहर नै कटान गर्‍यो ।’ 

ती खोलाहरुको बाढी बस्तीमा पस्दा सप्तकोशी नगरपालिकाका ३ सय घर डुबानमा परेको छ । नगरप्रमुख गौतमका अनुसार सप्तकोशी नगरपालिका वडा नम्बर १, २, ४ र ११ का गरी ३ सय घर डुबानमा परेको हो । बाढी पीडितको यकिन विवरण संकलन गर्ने काम भईरहेको गौतमले बताउनुभयो । 

यस्तै, जिता नदीको पानी सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–७ मंसापुर र वडा नम्बर–५ बरसाइनका केही घरमा पसेको छ । तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहका अनुसार जिता नदीको पानीले वडा नम्बर–७ को मंसापुर र वडा नम्बर–५ को बरसाइनका करीब २ सय ७५ घर डुबानमा परेको छ । 

वर्षाको पानीको निकास नहुँदा तिलाठी कोईलाडी–८ तोपा बस्तीका २५ घर समेत डुबानमा परेको छ । निरन्तरको वर्षाका कारण नदीहरुमा पानीको सहत पनि बढ्दै गएको छ । 


प्रतिक्रिया