मतदाता नामावली दर्ता प्रक्रिया सहज बनाउन निर्वाचन आयोगको ध्यानाकर्षण

श्रावण १६, २०७८ | काठमाडौं

नेपाली कांग्रेसले मतदाताको नामावली दर्ता प्रक्रियालाई सहज बनाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । कांग्रेसका नेता रामहरि खतिवडा, बहादुर सिंह लामा लगायतको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई भेटेर मतदाताको नामावली संकलन र दर्ता प्रक्रियालाई सहज बनाउन आग्रह गर्नु भएको हो । 

प्रमुख निर्वाचन आयुक्त थपलियालाई ध्यानाकर्षण पत्र बुझाउँदै नेता रामहरि खतिवडाले सम्बन्धित जिल्ला भन्दा बाहिरैबाट मतदाता नामावलीमा नाम दर्ता गराउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । 

काठमाडौं लगायत विभिन्न शहरमा रहेका नागरिक कोरोना भाइरसको महामारीका कारण गाउँसम्म पुग्न कठिन हुने भएकाले जो जहाँ छ त्यहीँबाट मतदाता नामावली दर्ताको प्रक्रिया मिलाउन आग्रह गरिएको नेता खतिवडाले जानकारी दिनुभयो । यसले मतदाता नामावली दर्ताका लागि दुर्गममा पुग्नु पर्ने बाध्यता रहेका मतदातालाई सहज हुने उहाँको भनाई छ । 

जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मतदाता नामावली संकलन, दर्ता र अद्यावधिकको काम सहजीकरणका लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो । आगामी भदौ १ गतेबाट काठमाडौं उपत्यकामा ५० वटा नामावली संकलन केन्द्र स्थापना गरी मतदाताको नाम संकलन, दर्ता र अद्यावधिकको काम सुरु गर्ने उहाँले बताउनुभयो । 

प्रत्येक निर्वाचन क्षेत्रमा एउटा/एउटा केन्द्र स्थापना गरी नामावली दर्ता प्रक्रियालाई थप सहज बनाउने उहाँले प्रतिबद्धता जनाउनुभयो । आयोगले यही साउन ३ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक विशेष कार्यक्रम सञ्चालन गरेको छ ।

सर्वोच्च अदालतको फैसलासँगै केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन नहुने भएपछि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य सुरु गरिएको हो ।

आयोगले मतदाता नामावलीमा यसअघि नाम समावेश नभएका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र लिई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न पनि भनेको छ । आयोगबाट यसअघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि गल्ती सच्याउन सक्ने छन् ।

यसअघि गत जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर पहिलो चरणमा कात्तिक २६ गते र दोस्रो चरणमा मंसिर ३ गते निर्वाचनको मिति तोकेपछि आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक जेठ ९ गते स्थगित गरेको थियो ।


प्रतिक्रिया