दार्चुलामा बाढी र पहिरोमा पुरिएर ३ जनाको मृत्यु

भाद्र १४, २०७८ | दार्चुला

बाढी र पहिरोमा पुरिएर दार्चुलामा ३ जनाको मृत्यु भएको छ । २ जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर दुहु गाउँपालिका–१ बासपालीका नरसिंह महर र कौसा महरको मृत्यु भएको हो । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले उनीहरु पुरिएका हुन् । 

पहिरोमा पुरिएर बेपत्ता भएका वडा नम्बर–५ का मनवा डँडाल मृत भेटिएका छन् भने उनकी श्रीमती घाइते भएकी छन् । कालागाड खोलामा गएराति आएको बाढीले डँडाललाई घरसहित बगाएको हो । यस्तै, कालागाड खोलामा आएको बाढीले दुहु गाउँपालिकाको वडा नम्बर २ र ५ जोड्ने ४ वटा झोलुङ्गे पुल बगाएको छ । सोही क्षेत्रका ५ वटा पसलमा बाढीले क्षति पुर्‍याएको छ ।

वडा नम्बर–३ को मिजङ–गाड खोलामा आएको बाढीले बगाउँदा स्थानीय शेर सिंह कार्की र उनका भाई हरक सिंह कार्की बेपत्ता भएका छन् । यस्तै, दुहु गाउँपालिका–३ र महाकाली नगरपालिका–१ जोड्ने २ वटा झोलुङ्गे पुल बाढीले बगाएको छ । 

बाढीले महाकाली नगरपालिका–१ सिरिबगरका तीन वटा घर र एउटा पसल बगाएको छ । सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर बेपत्ता भएकाहरुको खोजी गरिरहेका छन् । बाढीले घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ । 


प्रतिक्रिया