राजविराजमा कृषि र वीरगञ्जमा विज्ञान प्रविधि विश्वविद्यालय

भाद्र २२, २०७८ | राजविराज

प्रदेश २ सरकारले सप्तरीको राजविराजमा कृषि र पर्साको वीरगञ्जमा विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ । यसअघि दुई आर्थिक वर्षमा नीति तथा कार्यक्रममा मात्रै पर्दै आएको दुबै विश्वविद्यालयको कार्य कात्तिकदेखि सुरु गर्ने प्रदेश सरकारले तयारी गरेको छ । 

मंगलबार राजविराजमा आयोजित कार्यक्रममा प्रदेशका आर्थिक मामिला मन्त्री शैलेन्द्रप्रसाद साहले अध्यादेश ल्याएर दुबै विश्वविद्यालयका लागि २५–२५ करोड रुपैयाँ बजेट छुटयाउने तयारी भईरहेको बताउनुभयो । 

‘एकदुई दिन भित्रै दुबै विश्वविद्यालयको लागि तत्काल २५–२५ करोड रुपैयाँ दिइनेछ,’ मन्त्री साहले भन्नुभयो, ‘यसै महिनादेखि विश्वविद्यालयका तात्कालीन पूर्वाधारको ब्यवस्थापन गरिने छ ।’ 

तत्काल रकम विनियोजन गरी पूर्वाधार व्यवस्थापन गरेर आगामी कात्तिकदेखि पढाइ सुरु गर्ने तयारीका साथ काम भईरहेको उहाँले बताउनुभयो । राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमै कृषि विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरिएको र बिस्तारै पूर्वाधार थप्दै लैजाने उहाँले जानकारी दिनुभयो ।

‘अब निर्वाहमुखी खेतीले नभई ब्यवसायिक कृषिको बिस्तार गर्नुपर्ने तया परम्परागत खेती नभई प्रविधियुक्त खेती प्रणालीलाई अगाडि बढाउन सकेमात्र कृषि क्षेत्रको विकास हुन सक्छ,’ उहाँले भन्नुभयो, ‘कृषि प्राविधकको पढाईसंगै कृषि क्षेत्रको अनुसन्धानका लागि विश्वविद्यालय फलदायी हुनेछ ।’ 

यस्तै, प्रदेश सरकारले चालू आर्थिक वर्षदेखि एक निर्वाचन क्षेत्र ५ किलोमिटर पिच सडक निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने मन्त्री साहको भनाई छ । बहुवर्षीय योजनामा राखेर यस वर्षदेखि एक निर्वाचन क्षेत्र ५ किलोमिटर पिच सडक निर्माण कार्यको टेण्डर सुरु गरिने साहले जानकारी दिनुभयो । 

गौरवका आयोजनाको कामलाई दु्रत गतिमा अगाडि बढाउन प्रदेश सरकारले आवश्यक कदम चाल्ने भन्दै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति लगायत आवश्यक ब्यबस्थापन गरिने उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया