मुगु–तिब्बत सीमा स्तम्भ निरीक्षणमा १६ सदस्यीय टोली खटियो

भाद्र ३०, २०७८ | मुगु

मुगु–तिब्बत सीमा स्तम्भ निरीक्षणका लागि बुधबार जिल्लाबाट १६ सदस्यीय टोली खटिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाको नेतृत्वमा सशस्त्र प्रहरी निरीक्षक जगत रावलसहित १६ सदस्यीय टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले बताउनुभयो । 

सशस्त्र प्रहरीका १२ र जनपथ प्रहरीका ४ गरी १६ जना मुगु–तिब्बत सीमा स्तम्भ निरीक्षण तथा अनुगमनमा खटिएको प्रमुख जिल्ला अधिकारी शिवाकोटीले जानकारी दिनुभयो । मुगु–तिब्बत सीमा स्तम्भमा रहेको १३ नम्बर पिलर रेखदेख र निरीक्षण गर्न टोली खटाइएको उहाँको भनाई छ । 

मुगु–तिब्बत सीमा स्तम्भ निरीक्षणको निम्ति जिल्लाबाट हरेक वर्ष टोली खटाइने गरिएको प्रमुख जिल्ला अधिकारी शिवाकोटीको भनाई छ । टोलीलाई सीमा स्तम्भ पुग्न करीब ३ दिन र फर्किन ३ दिन गरी एक साताको समय निर्धारण गरिएको छ । 

सीमा स्तम्भमा खटिएको टोलीलाई सीमा स्तम्भसम्म पुग्न गमगढीदेखि छाइल बजारसम्म सडक सुविधा भएपनि त्यहाँदेखि पूलु, तिहारगुम्बा, चितैकुना, सिरानीचौर र मुगु गाउँ हुँदै पैदल हिँडनु पर्ने अवस्था छ ।


प्रतिक्रिया