नेपालको राजनीतिमा अझै स्थिरता आउन सकेको छैन : महन्थ ठाकुर

आश्विन १७, २०७८ | राजविराज
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपालको राजनीति अस्थिर भएको बताउनु भएको छ । लोसपा गठन भएपछि सो पार्टीका पक्षमा सप्तरीमा सनाखत गरेका जनप्रतिनिधिको सम्मानमा आइबार राजविराजमा आयोजित कार्यक्रममा अध्यक्ष ठाकुरले राजनीतिक अस्थिरताका कारण नेपालमा अप्रत्यासित घटनाहरु हुने गरेको बताउनुभयो ।
‘नेपालको राजनीतिमा अझै पनि स्थिरता आउन सकेको छैन्, अपेक्षा नगरेका घटनाहरु पनि अप्रत्यासित रुपमा हुन्छ । चुनावमा तात्कालीन नेकपा बहुमतले जित्यो हेर्दाहेर्दै सरकार ढल्यो,’ उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिमा यसअघि पनि अप्रत्यासित घटनाहरु भएका छन्, अहिले पनि हुने क्रममा छ ।’
अध्यक्ष ठाकुरले अब के अप्रत्यासित घटना हुने भन्ने बारेमा भने केही खुलाउनु भएन । चारदलीय गठबन्धनमा मतभिन्नता सुरु भईसकेको भन्दै अध्यक्ष ठाकुरले भन्नुभयो, ‘घर (मन्त्रिपरिषद) बनाउन नसक्ने सरकारले जनताको समस्या के समाधान गर्न सक्ला र ?’ लोसपाको कुनै पनि पार्टीसँग गठबन्धन नरहेको भन्दै ठाकुरले भन्नुभयो, ‘सबैसँग सम्झौता गर्दागर्दै थाक्यौँ, हाम्रो माग र मुद्दा सम्बोधन गराउने तर्फ मात्रै हाम्रो ध्यान केन्द्रित छ ।’
अध्यक्ष ठाकुरले नेपालको वर्तमान संविधान संहोधन सहज नभएको भन्दै कठोर संविधान रहेको बताउनुभयो । ‘नेपालको अहिलेको संविधान कठोर छ, संसोधन सहज छैन,’ ठाकुरले भन्नुभयो, ‘संविधानमा अझै धेरै कुरा प्रष्ट छैन ।’
नागरिकता नपाउँदा नेपालमा लाखौँ व्यक्ति कानूनी अस्तित्वबाट वञ्चित हुनु परेको भन्दै ठाकुरले नेपालमा नागकिता नपाएकै कारण जीवित व्यक्ति पनि अधिकारविहीन रहेको बताउनुभयो ।
कार्यक्रममा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले मधेश र मधेशीसँग धोखा गर्नेलाई पहिचान गरी दण्डित गर्नुपर्ने बताउनुभयो । स्वार्थका लागि केही बेइमान र स्वार्थीहरुले पार्टी एकता तोड्ने काम गरेपनि त्यसले विचार र मुद्दा समाप्त नहुने उहाँले बताउनुभयो ।
अर्का वरिष्ठ नेता शरदसिंह भण्डारीले नेपालको वर्तमान संविधान एकल जाति नश्लीय चिन्तन बोकेको संविधान भएको आरोप लगाउनुभयो । भण्डारीले भ्रष्टाचारका कारण संघीयतामथि खतरा रहेको भन्दै प्रदेश २ मा अख्तियारले छानबिन गर्दा विरोध गर्नु हास्यास्पद भएको टिप्पणी गर्नुभयो ।
लोसपा प्रदेश–२ का संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्नुभयो । मुख्यमन्त्री राउतले प्रदेशको सरकारलाई भ्रष्टाचारको आखडा बनाएको नेता सोनको आरोप थियो ।
‘उल्टे चोर कोतवालके डाँटे’ सोनलले भन्नुभयो, ‘प्रदेशका ५६ लाख जनताको आस्थाको केन्द्र मुख्यमन्त्री कार्यालयलाई भ्रष्टाचारको आखडा बनाउने अनि छानबिन सुरु हुँदा मसाल जुलुस गर्ने ?’ ‘भ्रष्टाचार बारे छानबिनमा रोक्न मिल्दैन्, संवैधानिक निकायलाई तर्साउन मिल्दैन् ।’
कार्यक्रममा लोसपाको पक्षमा सनाखत गर्ने जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादव सहितका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंह, प्रतिनिधि सभा सदस्यद्वय चन्द्रकान्त चौधरी र दुलारीदेवी खंग, लोसपाका केन्द्रीय कार्यकरिणी समिति सदस्य केशव झा, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादव, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, लोसपा नेताहरु जयप्रकास ठाकुर, गजेन्द्र मण्डल, पुनम यादव, शैलेश चौधरी लगायतले आफ्नो धारणा राखेका थिए ।