भारतसँगको सम्बन्ध विशिष्ट प्रकृतिको हो, हस्तक्षेप होईन : महन्थ ठाकुर

आश्विन १८, २०७८ | राजविराज

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाल–भारतबीचको सम्बन्ध विशिष्ट प्रकृतिको भएको बताउनु भएको छ । सोमबार सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा लोसपाका अध्यक्ष ठाकुरले नेपालको राजनीतिमा भारतको चिन्तालाई हस्तक्षेप वा प्रभाव भन्न नमिल्ने उहाँले बताउनुभयो । 

ठाकुरले भन्नुभयो, ‘भारत हाम्रो छिमेकी हो । भारतसँग घरआँगनको विशिष्ट प्रकारको सम्बन्ध छ । नेपाली समस्यामा पर्दा भारतको सहयोग खोज्छौँ भारतले सहयोग पनि गर्छ त्यसलाई भारतीय हस्तक्षेप वा प्रभाव भन्न मिल्दैन् ।’ 

अध्यक्ष ठाकुरले नेपालमा राजनीतिक वा अन्य कुनै समस्या हुँदा भारतको चिन्ता स्वाभाविक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसअघि पनि विभिन्न आन्दोलनको समयमा नेताहरुले भारतको सहयोग लिएकै हो । हामी पनि आन्दोलनमा हुँदा भारतको सहयोग पाएका हौँ ।’ 

नेपालका लागि भारतका पूर्व राजदूत रण्जित रेको पुस्तकको सन्दर्भका बारेमा सोधिएको प्रश्नको जवाफमा ठाकुरले सो अभिव्यक्ति दिनुभएको हो । मन्त्रिपरिषद बिस्तारमा प्रधानन्यायाधीशलाई पनि भागबण्डा मिलेको भन्ने चर्चा बारे अध्यक्ष ठाकुरले भन्नुभयो, ‘न्यायपालिका पनि राज्यकै अंग हो । स्टेटको चरित्र भन्दा न्यायपालिकाको चरित्र पनि भिन्न छैन ।’ 

आफूहरुको प्राथमिकतामा माग र मुद्दा मात्र रहेको भन्दै ठाकुरले केपी शर्मा ओली नेतृत्वको चुनावी सरकारमा मात्र आफूहरु सहभागी भएको बताउनुभयो । ‘हाम्रो माग र मुद्दा समाधान गर्ने तयारीपछि केपी ओली नेतृत्वको चुनावी सरकारमा हामी सहभागी भएका हौँ,’ ठाकुरले भन्नुभयो, ‘हाम्रा लागि सबै दल उस्तै हुन् ।’

पत्रकार सम्मेलनमा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालीले भारत वा चीन कसैको पनि गुलामी गर्नु जरुरी नरहेको बताउनुभयो । ‘चीन पनि नेपालको मित्र हो ऊसँग पनि मित्रता कायम राख्नुपर्छ, भारतसँग घर आँगनको विशिष्ट प्रकृतिको समबन्ध छ त्यो सम्बन्ध कायम राख्नुपर्छ,’ महतोले भन्नुभयो, ‘तर चीन वा भारत कसैको गुलामी गर्नु जरुरी छैन् ।’ 

जनता समाजवादी पार्टी जसपा मधेशलाई कमजोर गर्ने, खण्डित गर्ने र विभाजन गर्ने पार्टी भएकाले भन्दै उहाँले आगामी निर्वाचनमा सो पार्टीसँग गठबन्धनको सम्भावना कम रहेको बताउनुभयो । नेता महतोले जससपाका अध्यक्ष उपेन्द्र यादवले मधेशको मुद्दालाई कमजोर बनाएको समेत आरोप लगाउनुभयो । 


प्रतिक्रिया