रौतहटमा बाघको आक्रमणमा परि एक घाइते

रौतहटको चन्द्रपुर नगरपालिका–६ का यज्ञ बहादुर रायमाझी बाघको आक्रमणमा परि घाइते अवस्थामा स्थानीय सिभिल अस्पतालमा उपचार गराउँदै । तस्बिर: शिव पुरी/रेडियो कान्तिपुर ।  

आश्विन २१, २०७८ | रौतहट

रौतहटको चन्द्रपुर नगरपालिका–६ स्थित लमाह खोला नजिकको जंगलमा बिहीबार बाघको आक्रमणबाट एकजना घाइते भएका छन् । बिहान घाँस लिन गएका चन्द्रपुर–६ का यज्ञबहादुर रायमाझीलाई बाघले आक्रमण गरेको हो । 

उनको दुबै हातमा चोट लागेको छ । बाघले नङ्ग्राले चिथोरेर रायमाझीको हातमा गहिरो चोट लागेको हो । साइकलमा ७ जनाको समूहमा घाँस/दाउरा गर्न गएका रायमाझी सहितको टोलीले लमाहा पुल पारि कालिखोला नजिकै पुग्दा बाघ कराएको सुने । 

बाघको आवाज सुनेपछि रायमाझीले दाउरा काट्न बोकेको बन्चरो तयारी अवस्थामा राखे । अचानक बाघ अगाडि आएपछि उनले बन्चरो प्रहार गरे । र भूँइमा लडे । उनी लडेकै बेला बाघले नङ्ग्राले चिथोरेर भागेको रायमाझीले बताए । 

‘सुरुमै मैले बन्चरो प्रहार गरेको भएर बाघ पछि हट्यो,’ उनले भने, ‘बाघको पनि मुखमा चोट लागेको हुनुपर्छ । कालको मुखबाट जोगिएँ ।’ बन्चरो प्रहारपछि बाघ केहीपछि हटेको थियो । रायमाझीको स्थानीय सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त छ ।

एकवर्ष अघिदेखि सुरु गरिएको बाघ गणनामा रौतहटको राष्ट्रिय वनभित्र ४ वटा वयस्क फेला परेको थियो । धन्सार खोला पूर्व, बाग्मती, पश्चिमको वन क्षेत्रको गैंडाटार, जुडीबेला, चोचा, सिम्री, नुनथर लगायत स्थानमा १७ जोर क्यामेरा जडान गरिएको थियो । क्यामेरा ट्रयापिङबाट बाघ देखिएको हो । 

२०७७ असोज १३ गते साँझ चन्द्रपुर नगरपालिका–६ चिम्नि टोलका संगम भण्डारीको सो स्थान नजिक बाघको आक्रमणमा परि मृत्यु भएको थियो । घाँस लिन जंगल गएका भण्डारी, उनका साथी प्रविन श्रेष्ठ र अशोक थापालाई बाघले आक्रमण गरेको हो । बाघको पन्जाले चिथोरेर दुबै कान, छाती, गालामा चोट लागेको थियो । भण्डारीलाई बाघले घिसारेर लगेको थियो । उनको खोजी गर्ने क्रममा जंगलमा मृत अवस्थामा भेटिएको थियो ।


प्रतिक्रिया