यसरी बन्यो बैंक लुटने योजना, फरार भारतीय अभियुक्त लुटमा सामेल

आश्विन ३१, २०७८ | विराटनगर

व्यापारमा नोक्सान भएपछि मोरङको विराटनगर महानगपालिका–८, बलुवाहीका ३२ वर्षीय श्याम मुखियाले भारतका पेसेवर अपराधी ल्याएर बैंक लुटेको प्रहरी अनुसन्धानमा खुलेको छ । गत सोमबार अपराह्न सीमावर्ती मोरङको धनपालथान गाउँपालिका–४, कर्सियाको वीपी चोकको मुख्य सडकको उत्तरस्थित सिटीजन्स बैंकको शाखामा लुटपाट भएको थियो । 

हालसम्म पक्राउ तीन मध्ये एक भारतमा हत्या अभियोगमा फरार अभियुक्त हुन् । भारतका प्रहरी र पीडित परिवारले मोरंङ प्रहरीसँग सम्पर्क गरी जानकारी आदानप्रदान गरेका छन् । मुखियाले करीब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरेका थिए । 

प्रहरीका अनुसार व्यवसाय राम्ररी नचलेपछि ब्याजको ब्याज थपिंदै मुखियामाथि ऋणको भार बढ्दै गएको थियो । कहाँबाट ऋण चुक्ता गर्ने उनी चिन्तामा थिए । कोभिड–१९ को कारणले भएको लकडाउनमा ब्यापार पुरै डुबेपछि मुखिया सडकमा आएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार यसपछि उनी ब्यापारमा डुबेको रकम चाँडो हातपार्ने उपायको खोजीमा लागे । निकै भौतारिएपछि भारतको बिहारमा मावलीमा बसेर मुखियाले अपराधमा लागेकासँग सम्पर्क गरी आफ्नो गिरोह बनाएको प्रहरीले जनाएको छ । लुटिएको रकम दामासाहीले लिने सहमति अनुरुप योजना अघि बढेको मुखियाले प्रहरी समक्ष बयानमा बताएका छन् ।

प्रहरीका अनुसार मुखियासँगको सल्लाह अनुसार लुटको १५ दिन अगाडि भारतीय अपराधीहरु नेपाल भूमिमा प्रवेश गरेर ठाउँहरु हेरि फर्केका थिए । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले भन्नुभयो, ‘योजना बनाएको दुई साताभित्रै पहिले एक गार्मेन्ट र त्यसपछि बैंक लुटे ।’ 

मुखियाले प्रहरीमा दिएको बयान अनुसार पहिलो पटक पेस्तोल सहित ४ जनाको समूहमा २२ असोजमा विराटनगरको मेनरोडस्थित एक गार्मेन्ट लुटे । सो गार्मेन्टको काउन्टरबाट मात्र ११ हजार रुपैयाँ र साहु एवं कर्मचारीबाट ४ मोबाइल मात्र हात लागेपछि लुटको अर्को योजनामा लागेको मुखियाले प्रहरी बयानमा भनेका छन् । थोरै रकम मात्र फेला परेपछि रन्थनिएका लुटेरामध्ये एकले आफूले बोकेको पेस्तोलको पछाडिको भागमा प्रहार गरी गार्मेन्ट सञ्चालकलाई घाइते समेत बनाएका थिए । 

समान पेसा भएका कारणले मुखियालाई पहिलेदेखि सो गार्मेन्टको सम्पूर्ण कारोबार बारे जानकारी थियो । ‘गार्मेन्टबाट ८/१० लाख रुपैयाँ भेटेको भए मेरो आवश्यकता पूरा हुन्थ्यो, बैंक लुट्दैन्थ्यौँ,’ मुखियाले प्रहरी बयानमा भनेका छन्, ‘त्यो दिन हामीले गार्मेन्टमा अनुमान गरे अनुरुपको रकम भेटेनौँ ।’ प्रहरीका अनुसार त्यसपछि उनीहरुले गिरोहमा हतियार एवं मान्छे थपेर बैंक लुट्ने योजना बनाए । 

भारत गएर थप अपराधी र हतियार खोजेर ल्याएको मुखियाले दिएको प्रहरी बयानमा उल्लेख छ । बैंक लुटपाट अगाडि यो समूह धनपालथान गाउँपालिकासँग जोडिएको मोरङको सीमावर्ती जहदा गाउँपालिकाको एक कृषि फर्मको कुखुरा पालने टहरामा बसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो समूहका एक सदस्य भारत अररिया गोराहा–४ का ३० वर्षीय विजय सहनी एक वर्षदेखि सो फर्ममा काम गरिरहेका थिए ।

भारतमा हत्या गरेपछि फरार भएका सहनी नेपालमा कामदारको रुपमा लुकेर बसेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका अनुसार उनले गत वर्ष सामान्य झगडामा आफ्नै छिमेकी युवा शिवशंकर सहनीको पछाडिबाट गर्दनमा गोली प्रहार गरि हत्या गरेका थिए । उता प्रहरीले व्यापक खोजी गरेपछि उनी भागेर नेपालमा बसिरहेका थिए । ‘सहनी पक्राउ भएको थाहा पाएपछि पीडित पिताले हामीलाई आएर भेटि छोराको हत्यारा फक्रेकोमा धन्यवाद दिएका छन्,’ एसपी जीसीले भन्नुभयो, ‘हत्या गरिएका शिवशंकर परिवारका एक्लो छोरा थिए ।’ 

उनका अनुसार यो समूहले लुट्न एवं पारी भाग्न सहज हुने कोणले मोरङका थुप्रै बैंक, पसल एवं व्यापारिक फर्मको अध्ययन गरेका थिए । तर, बैंक लुटे लगतै स्थानीयको सहयोगमा मुख्य योजनाकार मुखिया सहित ३ जनालाई प्रहरीले लखेट्दै पक्राउ गरेको थियो । जीसीको अनुसार दुबै हातमा नोटको बिटा उठाउने हतारोमा गिरोहका सदस्य रोशन यादवले बोकेको पेस्तोल चलेर घाइते भएका सहनीलाई लिएर भाग्ने क्रममा मुखिया सहितका तीन पक्राउ परेका हुन् । पक्राउ पर्ने अन्य दुईमा भारत अररिया सेखपुरा–५ का २८ वर्षीय सुनील यादव र अररिया गोराहा–४ का घाइते सहनी हुन् ।

एसपी जीसीको अनुसार लुटको क्रममा घाइते सहनीलाई लिएर भारततिर भाग्ने क्रममा धनपालथान गाउँपालिका–२, खयरबना चोकबाट मुखिया, यादव र सहनी पक्राउ भएका थिए । लुटेराहरुले भाग्ने क्रममा प्रयोग गरेको को २५ प ३८९९ नम्बरको मोटरसाइकल समेत बरामद भएको एसपी जीसीले बताए ।

पक्राउ यादवले प्रयोग गरेको कटुवा पेस्तोल र सुरक्षा गार्डमाथि प्रहार गर्दा नपडकेको एक राउन्ड गोली, घाइते सहनीबाट बरामद १ मोबाइल, घटनास्थलबाट पेस्तोलको एक राउण्ड गोली, १ खोका र घाइते सुरक्षागार्ड ३८ वर्षीय शितल कुमालको शरीरबाट निकालिएको एक गोली पनि प्रहरीले बरामद गरेको छ । सुरुवाती अनुसन्धानमा पहिचान भएका घटनामा संलग्न भएर पेस्तोल सहित फरार ६ जनाको खोजी भइरहेको एसपी जीसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पर्दा पछाडि बसेर वा अप्रत्यक्ष रुपमा सहयोग गर्नेहरु पनि हुनसक्छन् ।’

एसपी जीसीको अनुसार बैंकले नगद काउन्टर र कर्मचारी प्रवेश गर्ने द्वारमा मात्र सीसीटीभी राखेको छ, सेवाग्राही प्रवेश गर्ने ठाउँ वरिपरि हेर्नलाई सीसीटीभी छैन । सो बैंकले संकटका लागि ‘अलार्म’ समेत नराखेको एसपी जीसीले बताउनुभयो । सीसीटीभी फुटेजमा सात जना लुटेरा बैंकभित्र र सोधपुछको क्रममा अन्य दुई बाहिर बसेको बुझिएको उहाँको भनाई छ । लुटेरामध्ये कसले केमा हालेर रकम लिएर गयो र एकपछि अर्को गर्दै कसलाई दिए भन्ने प्रष्ट भइसकेको उहाँले बताउनुभयो । एसपी जीसीको अनुसार फरारको खोजीमा प्रहरी परिचालन भईसकेको छ । उहाँले भन्नुभयो, ‘दुई जनालाई पक्रेर ल्याउने क्रममा छौँ ।’

उहाँका अनुसार बैंकबाट लुटेको झन्डै २४ लाख रुपैयाँ लिएर लुटेराहरु मध्येका अर्को समूह फरार छन् । ‘बैंकले लुटिएको रकम अझै यकिन गर्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘बैंकले प्रहरीलाई लिखित जानकारी दिने भनेको छ ।’

प्रहरीका अनुसार गत सोमबार अपराह्न एक्कासी बैंकभित्र प्रवेश गर्ने क्रममा लुटेरा समूह मध्येका दुई जनाले सुरक्षा गार्ड ३८ वर्षीय शितल कुमालको खुकुरी खोसेपछि पेस्तोल ताकेर उनलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । प्रतिकार गर्दा पछाडिबाट अर्को लुटेराले प्रहार गरेको गोली सुरक्षागार्ड कुमालको दुबै तिरको पातामा लागेको प्रहरीले जनाएको छ ।

घटना लगत्तै उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएका कुमालको अवस्था खतरामुक्त रहेको परिवारजनले जानकारी दिएका छन् । कुमालको पत्नी नानुमायाको अनुसार गोली लागेको भागमा अझै दुखिरहेको हुनाले घाउ निको नहुन्जेल अस्पतालमै रहन चिकित्सकले भनेका छन् । पक्राउमध्ये विजय र पहिचान भएका अधिकांश फरारहरुलाई विभिन्न अपराधमा भारतीय प्रहरीले खोज गरिरहेको एसपी जीसीले जानकारी दिनुभयो । उहाँका अनुसार दुबै तिरको प्रहरीले मिलेर उनीहरुको खोजी भईरहेको छ ।

पूर्वनिर्धारित योजना अनुरुप दुई समूहमा विभाजित भएर लुटेरा समूहले घाइते साथीलाई लिएर भाग्न एउटा बाटो र रकम लिएर भाग्न अर्को बाटो प्रयोग गरेको एसपी जीसीले बताउनुभयो । ‘यो कारणले पनि पिछा गर्न गाह्रो भयो,’उहाँले भन्नुभयो, ‘सुरक्षागार्ड माथि गोली प्रहार गर्ने पनि फरार छन् ।’

दसैं लक्षित विशेष सुरक्षा योजना अन्तर्गत परिचालित प्रहरी टोलीहरु बेलामै घटनास्थलमा पुगेर लुटेरालाई लखेट्न सकेकाले तत्कालै पक्राउ गर्न सकिएको प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीले बताउनुभयो । ‘घटना लगतै मोरङ प्रहरी प्रमुखको टोली, विभिन्न युनिटबाट मोबाइल, क्यूआरटी र पैदल टोली परिचालन भयो,’ उहाँले भन्नुभयो, ‘स्थानीयबासीको समेत भरपुर सहयोग रह्यो ।’ एसपी जीसीको अनुसार घटनामा संलग्नहरुलाई डाका, हातहतियार एवं खरखजाना, ज्यान मार्ने उद्योग एवं संगठिन अपराधमा मुद्दा चलाइनेछ ।

यताको मुद्दाको फैसला अनुरुप सजाय काटेपछि भारतीय नागरिक सहनीलाई भारतीय प्रहरीको जिम्मा लगाइने प्रहरीले जनाएको छ । ‘यो लुटको घटनामा दुबै पक्षले पहिला नै एक अर्कालाई जानकारी गराइसकेको हुनाले यताको सजाय पुरा भएको जानकारी दिइएपछि सहनीलाई हत्या अभियोगमा मुद्दा चलाउन भारतीय प्रहरीले लिएर जान्छ,’ पूर्वडीआईजी हेमन्त मल्लले भन्नुभयो । 

पूर्वडीआईजी मल्लका अनुसार खोजीको सूचीमा रहेका कतिपय अपराधी बारे इन्टरपोलबाट पनि जानकारी आउँछ । ‘कतिपय घटनामा विदेशी नागरिक पक्राउ परेपछि अनुसन्धानको क्रममा आफ्नै देशमा समेत अपराध गरेको खुलासा भएपछि प्रहरीले पुष्टि गर्नलाई अर्को पक्षलाई सम्पर्क गर्छ,’ मल्लले भन्नुभयो, ‘भारत बाहेकको मुलुकको हकमा आवश्यक कानूनी प्रक्रिया पूरा गरेर अध्यागमन विभाग मार्फत बुझाइने गरिएको छ ।’

सो घटनापछि मोरङका सबै बैंक र आर्थिक कारोबारहरु हुने थलोहरुको निगरानी र अनुगमन बढाइएको एसपी जीसीले जानकारी दिनुभयो । उहाँका अनुसार बैंकका प्रबन्धकहरुलाई सावधान रहन भनिएको छ । ‘सादा पोसाकका प्रहरी टोलीहरु समेत परिचालन गरेका छौं,’ एसपी जीसीले भन्नुभयो, ‘यी टोलीहरुले बैंकभित्र र बाहिर नियमित गस्ती गरिरहेको छ ।’

के भन्छन् घाइते सुरक्षागार्ड एवं परिवारजन ?

दिउँसोको समय थियो । बैंकमा सामान्य ढंगले कारोबार भइरहेको थियो । ड्यूटीमा तैनाथ सुरक्षागार्ड कुमालले सेवाग्राहीको सुरक्षा जाँच गर्दै भित्र पठाइरहेका थिए । त्यो क्रममा सरासर भित्र प्रवेश गर्ने व्यक्तिहरुलाई रोकेर के कामको लागि आएको प्रश्न गरे । माथि एउटा काम छ भन्दै बैंंकको एक फन्को लगाएर उनीहरु फर्के । १५ मिनेटपछि उनीहरु फेरि आए । कुमालले रोक्न खोजे । वरिपरिबाट घेरेर उनीहरुमध्ये एकले कुमालको खुकुरी खोसे । अर्को एकले पेस्तोल ताके । कुमालले खोस्नै खोज्दा घम्साघम्सीको क्रममा पछाडिबाट अर्को लुटेराले प्रहार गरेको दुई राउण्ड गोली कुमालको घाँटिको दुबै छेउतिर लाग्यो । एउटा छोएर गयो भने अर्को गोली भित्रै अड्कियो । उनी भुइँमा ढले । कोलाहल मच्चियो ।

‘गोली प्रहारपछि मलाई करेन्ट लागे जस्तो भयो, घटनाको ५/७ मिनेटमै मलाई यहाँ ल्याइयो, त्यसपछि के भयो ? मलाई थाहा छैन,’ सुरक्षागार्ड कुमालले भने, ‘बैंकका कर्मचारी, धनमाल र सेवाग्राहीको सुरक्षाका लागि मैंले सकेसम्मको कोसिस गरेँ ।’

मोरङ प्रहरीका अनुसार गोली प्रहारको दुई/तीन मिनेटभित्र लुटेराहरुले बैंक लुटे । मुख नछोपी र मास्क नलगाइ आएपनि लुटेराहरुमध्ये कसैलाई पनि आफूले चिन्न नसकेको कुमालले बताए । विराटनगरको न्यूरो अस्पतालमा कुमालको उपचार भइरहेको छ । चिकित्सकले तत्कालै अर्को गोली झिकेको उनी खतरामुक्त छन् ।

मोरङको रंगेली नगरपालिका–२ का कुमाल नेपाली सेनाको अवकाश प्राप्त हवल्दार हुन् । दुई छोराछोरीका पिता उनी निजी सुरक्षा कम्पनी नेपाल एक्स टू (एनेक्स टू) मार्फत १ असोजदेखि सो बैंकमा कार्यरत छन् । कुमालको पत्नी ३७ वर्षीया नानुमायाले श्रीमान घाइते भएको सूचना घटनाको आधी घण्टापछि पाएकी थिइन् । ‘कसैले बैंक लुटपाट बारे फेसबुकमा गरेको पोस्ट हेरेर एक छिमेकीले मलाई भनेपछि थाहा पाएकी हुँ,’उनले भनिन् ।

सो घटनापछि कुमाल परिवार त्रासमा छन् । कर्सियाकै एक स्थानीय विद्यालयमा कुमालको छोरा कक्षा–९ मा र छोरी कक्षा–६ मा पढ्छन् । दुबै सन्तानको सुरक्षा चिन्ताले उनीहरुलाई सताएको छ । ‘लुटेराहरुले श्रीमानलाई चिनिसकेका छन्, तीन जना पक्राउ परेपनि उनीहरुका अरु साथी पनि होलान्,’ नानुमायाले भनिन्, ‘छोराछोरीलाई कसरी विद्यालय पठाउने चिन्ता भयो ।’ उनले श्रीमानको पूर्ण उपचार, लुटेरालाई कडा कारबाही र परिवारको सुरक्षा गरिदिन सरकारसँग आग्रह गरेकी छन् । 


प्रतिक्रिया