बैंक लुटपाटमा संलग्न भई फरार रहेका थप एक पक्राउ

कार्तिक १, २०७८ | विराटनगर

मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित सिटीजन्स बैंकको शाखा एवं विराटनगरको मेनरोडस्थित एक गार्मेन्टमा भएको लुटपाटमा संलग्न थप एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ परेका भारतीय नागरिकको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । 

उनको साथबाट एएटा पेस्तोल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । योसँगै बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ परिसकेका छन् भने दुई पेस्तोल बरामद भइसकेको छ । प्रहरीका अनुसार फरार रहेका मध्येका एक जनालाई शनिबार सीमा क्षेत्रबाट र आइतबार अन्य एक स्थानबाट पेस्तोल बरामद भएको हो । 

अनुसन्धानमा भएको प्रगति बारे मंगलबार जानकारी दिइने मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताउनुभयो । गत सोमबार अपराह्न बैंक लुटेर भाग्ने क्रममा प्रहरीले मुख्य योजनाकार नेपाली नागरिक र दुई भारतीय नागरिकलाई पक्राउ गरेको थियो । सो समूहले असोज २२ गते गार्मेन्ट र असोज २५ मा बैंक लुटेका थिए । 

प्रहरीका अनुसार उनीहरुले बैंकबाट करीब २४ लाख रुपैयाँ र गार्मेन्टबाट ११ हजार रुपैयाँ एवं ४ थान मोबाइल लुटेका थिए । लुटिएको रकम बरामद गर्न प्रयास गरिरहेको प्रहरीले जनाएको छ । 

यसअघि पक्राउ परेका लुटेराहरुको साथबाट कटुवा पेस्तोल र नपडकेको एक राउन्ड गोली, मोबाइल एक थान, घटनास्थलबाट पेस्तोलको एक राउण्ड गोली १ खोका र बैंकका घाइते सुरक्षागार्ड ३८ वर्षीय शितल कुमालको शरीरबाट निकालिएको एक गोली प्रहरीले बरामद गरेको थियो । 

सुरुवाती अनुसन्धानमा बैंक लुटमा तीन पेस्तोल प्रयोग भएको देखिएको प्रहरीले जनाएको छ जसमध्ये दुई बरामद भइसकेको छ । बाँकी एक पेस्तोल रकम लिएर फरार भएकासँग हुन सक्ने प्रहरीको अनुमान छ । कुन पेस्तोलले सुरक्षागार्डमाथि आक्रमण भएको यकिन भइनसकेको प्रहरीको भनाइ छ ।

पक्राउ र फरारमध्ये केही लुटेराहरु पारि पनि ‘वान्टेड’ सूचीमा रहेकाले भारतको अररिया प्रहरीले समेत खोजी गरिरहेको छ । प्रहरीका अनुसार फरारहरु सीमा वारिपारि बरोबर निगरानीमा छन् । ‘धेरै दिन सम्म लुकेर बस्न र लुटिएको रकम खर्चिन सजिलो छैन,’ एक अनुसन्धान अधिकृतले भने । 

सुरुवाती अनुसन्धानमा पहिचान भएका बाँकी ५ फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सीसीटीभी फुटेजमा सात लुटेरा बैंकभित्र र सोधपुछमा अन्य दुई बाहिर बसेको खुलासा भएको थियो । 

फरारहरु एवं लुटिएको रकमको खोजीमा विशेष टोली परिचालन गरिएको प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीले बताउनुभयो । उहाँका अनुसार यो लुटमा संलग्न मुख्य योजनाकार बाहेक सबै आपराधिक पृष्ठभूमि भएका भारतीय नागरिक छन् । दुबै तिरको प्रहरीले आपसमा जानकारी आदानप्रदान गर्दै उनीहरुलाई खोजीरहेको डीआईजी बीसीले जानकारी दिनुभयो । 


प्रतिक्रिया