वाग्मतीमा गठबन्धनले टुंग्याउन सकेन मुख्यमन्त्री

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ४, २०७८ | मकवानपुर


वाग्मती प्रदेशमा विपक्षी गठबन्धनको तर्फबाट आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय अझै सहमति हुन सकेको छैन । अल्पमतमा परिसकेको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले असोज तेस्रो साताभित्र विश्वासको मत लिइसक्नुपर्ने भएपनि विपक्षी गठबन्धनमा सरकारको नेतृत्वको विषयलाई लिएर विवाद भएपछि नयाँ मुख्यमन्त्रीको चयन लम्विएको छ ।

 विपक्षी गठबन्धन, केन्द्रको आधिकारीक निर्णयको पर्खाइमा छ । प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलको नेता इन्द्रबहादुर बानियाँ र नेकपा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम चर्चामा छ । पाण्डेले आफूले मुख्यमन्त्री पाउने सहमति गठबन्धनमा भइसकेको दाबी गर्दै आएपनि कांग्रेस र माओवादी केन्द्रले आधिकारीक निर्णय नभएको दावी गरिरहेका छन् । माओवादीले मुख्यमन्त्री दावी गरेको छैन । उसले बागमति प्रदेशमा कांग्रेसले नेतृत्व पाउनुपर्ने पक्षमा लविङ गरिरहेको बताइएको छ । कांग्रेसका सचेतक छिरिङ दोर्जे लामाले प्रदेश सरकारको नेतृत्वबारे केही दिनपछि मात्र टुङ्गो लाग्ने बताउनुभयो ।

यसैवीच, आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुँदैछ । त्यसको आन्तरिक तयारी प्रदेशसभा सचिवालयले गरेको छ ।



प्रतिक्रिया