रोल्पा कांग्रेसको सभापतिमा आचार्य निर्वाचित

मंसिर ८, २०७८ | रोल्पा

नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य निर्वाचित हुनु भएको छ । निकटतम प्रतिद्वन्दी मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै आचार्य निर्वाचित हुनु भएको हो । 

मंगलबार भएको मतगणनामा आचार्यले ५ सय २ मत तथा खत्रीले ४ सय ४० मत प्राप्त गर्नुभयो । कुल १ हजार ४२ मत खसेकोमा ३८ मत बदर भएको थियो । मंगलबार रातिदेखि थालिएको मतगणना अनुसार बुधबार दिउँसोसम्म पदाधिकारीको मात्रै नतिजा सार्वजनिक भएको हो । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पदाधिकारीको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी छ । महाधिवेशन प्रतिनिधिको मत गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृत सूर्य वलीले बताउनुभयो । सभापतिमा निर्वाचित आचार्य पौडेल–कोइराला पक्षका हुन् । 

पराजित खत्री देउवा निकट हुन् । खत्री सभापतिका पूर्व उम्मेदवार हुन् भने आचार्य हालका उपसभापति हुन् । पूर्व मन्त्री समेत रहेका यसअघिका जिल्ला सभापति अमरसिंह पुन मगर प्रदेश समितिको सभापतिमा उम्मेदवार हुने निश्चित भएपछि तत्कालीन उपसभापति आचार्यलाई सभापति पदमा उम्मेदवार हुने ढोका खुलेको थियो । 

खत्री रोल्पा नगरपाकिला–१० का वडा अध्यक्ष हुन् भने आचार्य निजी व्यवसायीहरुको संस्था उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन् । खत्री साविकको धबाङका पूर्व अध्यक्ष समेत हुन् । सभापतिसँगै अन्य पदाधिकारी पनि पौडेल–कोइराला पक्षकाले नै जितेका छन् । 

उपसभापतिमा हरिबहादुर पुन र कविता उपाध्याय, सचिवमा तिलबहादुर बुढाथोकी र शेरबहादुर थापा, सहसचिवमा गञ्जबहादुर महरा क्षत्री र सुनीलकुमार वली विजयी भएका हुन् । यसअघिको क्षेत्रीय पदाधिकारी चयन गर्दा निर्वाचन रोचक बनेको थियो । 

प्रदेश क्षेत्र नं क मा पुरै प्यानलमध्ये देउवा पक्षका सभापति दुर्गाबहादुर खड्काले मात्रै विजयी हासिल गरे । अन्य पदाधिकारीमा पौडेल–कोइराला पक्षकाले जिते । प्यानलमध्ये एक्लै जितेका सभापति खड्काले आफूलाई मन पराएर कार्यकर्ताले विजय बनाएको प्रतिक्रिया दिनुभयो । 

जिल्लाका १० वटा स्थानीय तहमध्ये पार्टीबाट स्थानीय तहमा विजयी हुने खड्का एक्ला हुन् । खड्का लुङ्ग्री गाउँपालिकाका अध्यक्ष समेत हुन् । प्रदेश निर्वाचन क्षेत्र ख मा भने पौडेल–कोइराला पक्षको सिंगै प्यानल विजयी बन्यो । 

सभापतिमा घर्तीगाउँका गोपाल घर्तीमगर विजय हुनुभयो । दुबै क्षेत्रमा गरी महाधिवेशनका लागि जिल्लाभर करीब १ हजार ४२ प्रतिनिधि चयन भएका थिए । महाधिवेशन प्रतिनिधि चयनमा पौडेल–कोइराला पक्षको वर्चश्व रहेको छ । 


प्रतिक्रिया