क्षयरोगका वास्तविक बिरामीको संख्या पत्ता लगाउन समस्या

मंसिर ८, २०७८

पछिल्लो एक वर्षमा क्षयरोगका वास्तविक बिरामीको संख्या पत्ता लगाउन समस्या भएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । केन्द्रका निर्देशक डा प्रकाश प्रसाद साहले क्षयरोगका वास्तविक रोगी लुकेर बसेपछि यकिन संख्या पत्ता लगाउन समस्या भएको बताउनुभयो । नेपालमा प्रत्येक वर्ष ६८ हजार क्षयरोगी पत्ता लाग्ने गरेकोमा गत वर्ष २८ हजार मात्र सार्वजनिक भएको उहाँको भनाई छ । बाँकी ४० हजार लुकेर बसेको र उनीहरुका कारणले अरु पनि क्षयरोगी बन्नसक्ने सम्भावना रहेको उहाँले बताउनुभयो । 

सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण गर्ने लक्ष्य लिएकोमा सो पूरा नहुने उहाँले उल्लेख गर्नुभयो । सामान्यत: प्रति १ लाखमा १० वा सो भन्दा कम भएमा मात्र नियन्त्रण उन्मुख मानिन्छ । यस्तै सन् २०५० सम्म नेपाललाई क्षयरोग मुक्त बनाउने लक्ष्य लिएकोमा सो पनि पूरा नहुने उहाँको भनाई थियो । प्रति १० लाख मा १ वा १ भन्दा कम क्षयरोगीको संख्या भेटिए मात्र क्षयरोग मुक्त भन्न मिल्ने उहाँले बताउनुभयो । क्षयरोगीको वास्तविक संख्या यकिन गर्नका लागि परीक्षण बढाउनुपर्ने उहाँको भनाई थियो । क्षयरोग नियन्त्रण तथा उन्मूलनका लागि केन्द्रले ७ वटै प्रदेशका २२ जिल्लाको २२ वटा पालिकाबाट छिट्टै नै क्षयरोगमुक्त पालिका अभियान शुरु गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया