कांग्रेस सिन्धुलीको क्षेत्र नं २ मा कुमार ढकाल विजयी

मंसिर ११, २०७८ | सिन्धुली

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सिन्धुलीको निर्वाचन क्षेत्र नम्बर–२ को सभापतिमा कुमार ढकाल निर्वाचित हुनु भएको छ । निर्वाचन कार्यालयका अनुसार ढकालले ३ सय ६२ मत प्राप्त गरी विजयी हुनु भएको हो । 

उहाँका प्रतिस्पर्धी कपिल कोइरालाले ३ सय ६१ मत प्राप्त गर्नुभयो । मतगणनाका क्रममा ११ मत फरक बाकसमा परेपछि धाँधली भएको भन्दै तीन दिन अघिदेखि मतगणना रोकिँदा नतिजा घोषणा हुन सकेको थिएन । 

निर्वाचन कार्यालयका अनुसार कांग्रेस जिल्ला समिति र विजयी उम्मेदवारको रोहबरमा निर्वाचन समितले गणना हुन बाँकी रहेका ११ मतको आज गणना गर्दा ढकालको ४ र कोइरालाको ६ मत रहेको थियो । एक मत खाली थियो । 

यसअघिको अन्तिम गणनामा ढकालको ३५८ र कोइरालाको ३५५ मत रहेको थियो । मुचुल्का उठाएर सुरक्षित राखेको मतपत्र गणना हुँदा एक मतले ढकाल विजयी भएको मतदान अधिकृत मनोज शाहले जानकारी दिनुभयो । 

यसअघि ढकालले भने धाँधली भएको भन्दै मतगणना बहिष्कार गरेका थिए । नतिजा प्राप्त भएर विजयी भएका ढकालले लाकतन्त्रमा मतको कदर भएको बताए । सिन्धुलीका दुई वटै संघीय निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा संस्थापन पक्षका उम्मेदवारले जित हात पारेका छन् । 

निर्वाचन क्षेत्र नं–१ मा देउवा पक्षीय उम्मेदवार कर्णबहादुर थापामगर क्षेत्रीय सभापति पदमा विजयी भएका छन् । उहाँका प्रतिस्पर्धी संस्थापन इतर पक्षीय पुष्पबहादुर कार्की रहेका थिए । दुबै जना उम्मेदवार गाउँपालिका अध्यक्ष हुन् । क्षेत्रीय सभापति बाहेकको महाधिवेशन प्रतिनिधि ४८ जनामा भने संस्थापन र इतर पक्षको संख्या बराबरी जस्तै छ ।


प्रतिक्रिया