नेपालसँगको श्रम सम्झौता पुनरावलोकन गर्न कतार सहमत

रेडियो कान्तिपुर संवाददाता

मंसिर १७, २०७८ | काठमाडौं

नेपाल र कतारका उच्चस्तरीय श्रम अधिकारीहरुको बैठकमा दुई देशबीच सन् २००५ मा भएको श्रम सम्झौतालाई पुनरावलोकन गर्ने सहमति भएको छ । दुई देशका अधिकारीहरु बीच भएको सहमतिमा हाल श्रम सम्झौतामा उल्लेख नभएका विषयहरुका बारेमा अध्ययन गरेर थप गर्ने उल्लेख छ । 

 यस्तै बैठकमा घरेलु कामदारको सुरक्षा सम्बन्धि व्यवस्था गर्नका लागि दुवै देशले कार्यदल गठन गर्ने र सो कार्यदलले दिएका सुझावलाई पनि श्रम सम्झौतामा समावेश गर्ने सहमति समेत भएको छ । साथै, कतारमा काम गरेर फर्किएकालाई नेपालमा पुर्नस्थापना गर्न नेपाल सरकारले गरेको प्रस्तावलाई कतारले मान्ने सहमति भएको छ । 

त्यसका लागि सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न कतार सरकारले सहयोग गर्ने सहमति बैठकमा भएको छ । नेपालसँग वार्ता गर्न कतारको प्रशासनिक विकास, श्रम तथा समाजिक मामिला सचिवको नेतृत्वको टोली हिजो नेपाल आएको थियो । टोलीमा कतारको श्रम, आन्तरिक, कानुन र परराष्ट्र मामिला मन्त्रालयका अधिकारीहरू रहेका छन् । कतारले २०७४ भदौ ६ गते नै घरेलु श्रमिकलाई सम्बोधन हुने गरी कानुन जारी गरिसकेको छ । कतारमा हाल झन्डै ५० हजार नेपाली पुरुष घरेलु श्रमिक कार्यरत छन् ।


प्रतिक्रिया