राष्ट्रिय बाघ सर्वेक्षण सुरु

मंसिर १९, २०७८

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा आजदेखि राष्ट्रिय बाघ सर्वेक्षण सुरु भएको छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँकेमा बाघ गणना हुन लागेको हो । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर सर्वेक्षण गरिँदै छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चितवन–पर्सा निकुञ्ज, बाँके र बर्दिया निकुञ्ज र शुक्लाफाँटा र लालझाडीमा तिन वटा ब्लक बनाएर सर्वेक्षण गरिनेछ । बाघ गणना सम्पन्न गर्न करिब चार करोड खर्च हुने अनुमान गरिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जमा मात्र १ सय २० प्राविधिक र सहयोगीसँगै बाघ गणनामा हात्ति परिचालन गरिदैछ । बाघ गणनाको अन्तिम परिणाम आगामी जुलाई २६ का दिन विश्व बाघ दिवस पारेर सार्वजनिक गरिने प्रमुख संरक्षण अधिकृत आचार्यले जानकारी दिनुभयो । सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २ सय ३५ वयस्क बाघ फेला परेका थिए । यतिबेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लाफाँटामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । सन् २०१० मा लिइएको लक्ष्य अनुसार हालको बाघ गणनामा संख्या दोब्बर हुने अनुमान गरिएको छ । नेपालको बाघ संरक्षण सम्बन्धी कार्यक्रम निकै प्रभावकारी मानिएको छ । 


प्रतिक्रिया