लुम्बिनी प्रदेश सरकारले द्वन्द्वपीडितको विवरण माग्यो

पुस ११, २०७८ | रोल्पा

लुम्बिनी प्रदेश सरकारले तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा मृत्यु भएका, घाइते घाइते भएका र अंगभंग भएकाहरुको विवरण संकलन थालेको छ । प्रदेश सरकारले द्वन्द्व प्रभावित जिल्लाहरुबाट विवरण संकलन थालेको हो । 

रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार सरकारले सबै खालका पीडितको विवरण पठाउन प्रशासन कार्यालयलाई पत्राचार गरेको हो । सरकारले विवरण मागे अनुसार माओवादी सशस्त्र द्वन्द्वबाट अति प्रभावित रोल्पाबाट समेत विवरण पठाइएको स्थानीय प्रशासनले जनाएको छ । 

प्रजिअ सापकोटाले भन्नुभयो, ‘हामीसँग मागेको विवरण पठाएका छौं । हालसम्म भएका विवरण संकलन गरेर पठाएका छौं ।’ सरकारले पीडितका लागि राहत दिने उद्देश्यले विवरण संकलन गरिएको हुन सक्ने प्रजिअ सापकोटाको भनाई छ ।

माओवादी सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पामा मुलुकमै सबैभन्दा बढी पीडित छन् । सशस्त्र द्वन्द्वका बेला रोल्पामा करीब एक हजारले ज्यान गुमाएका थिए । राज्य र विद्रोही पक्षबाट जिल्लामा मात्रै ९ सय ४६ जनाको ज्जान गएकोमा राज्य पक्षबाट ७ सय ६२ को, विद्रोहीबाट १ सय ६५, दोहोरो भिडन्तमा ८ जना र पक्ष नखुलाइएको ११ जनाको ज्यान गएको थियो । 

प्रशासनका अनुसार हालसम्म राज्य पक्षबाट २७ र विद्रोहीबाट ६ जना गरी ३३ जना बेपत्ता भएका थिए । माओवादी सशस्त्र द्वन्द्वका क्रममा अपांग भएका ७७ जना छन् । उनीहरुलाई सरकारले जीवन निर्वाह भत्ता लिइरहेका छन् । 

राहत लिएका अन्य अपांग ५ सय ९५ जना छन् । माओवादी सशस्त्र द्वन्द्वकै कारण मृतकका एकल महिला ३ सय २३ जना छन् भने बेपत्ताका एकल महिला ७ जना छन् । 

माओवादीले २०५२ साल फागुन १ गतेदेखि थालेको सशस्त्र द्वन्द्वका क्रममा २३ वटा प्रहरी चौकी ध्वस्त भएका थिए । सरकारले कतिपय प्रहरी चौकीको पुनर्निर्माण गरिदिएको छ ।


प्रतिक्रिया