अंग्रेजी नयाँ वर्ष : भेडेटार र बन्दीपूरमा विशेष महोत्सव

पुस १६, २०७८ | धनकुटा/ तनहुँ

अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुर्वको पर्यटकीय गन्तव्य मध्येको धनकुटास्थित भेडेटारमा आजदेखि तीन दिने नवौं परिकार महोत्सव सुरु भएको छ ।

 महोत्सवमा पुर्वका विभिन्न जिल्लासहित छिमेकी मुलुक भारतबाट उल्लेख्य रुपमा पर्यटक आएका छन् । महोत्सवको उद्घाटन गर्दै प्रदेश एकका भौतिक पुर्वाधार विकास मन्त्री हिमाल कार्कीले पर्यटनको महत्वपूर्ण गन्तव्य भेडेटारलाई पर्यटनको थप पुर्वाधार विकासमा प्रदेश सरकारको उच्च चासो रहेको बताउनुभयो । उहाँले प्रदेश १ कृषि र पर्यटनको प्रशस्त सम्भावना भएकोले त्यसतर्फ प्रदेश सरकारको प्राथमिकता रहने बताउनुभयो ।

 होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा सुरु महोत्सव आगामी १८ गतेसम्म महोत्सव आयोजना हुनेछ । महोत्सवमा विभिन्न जाति परिकार, अर्गानिक खाना, बाँसबाट बनेका सामग्री, खुकुरी, ढाकाकपडा लगायतका विभिन्न स्टल समावेश गरिने छन् । महोत्सवमा करिब ३० हजार पर्यटक सहभागी हुने आयोजकको अनुमान छ ।

यसैबीच, अंग्रेजी नयाँ वर्षकै अवसरमा तनहुँको बन्दिपुरमा पनि सांस्कृतिक तथा सडक खाना महोत्सव आयोजना गरिएको छ । आन्तरिक र ब्राह्य पर्यटकलाई खुल्ला आकाशमुनि बसेर स्थानीय अर्गानिक परिकारसहित मनोरञ्जन दिन सडक खाना महोत्सव आयोजना गरिएको क्षेत्रीय होटल संघ बन्दिपुर बजार इकाईका अध्यक्ष विपिन प्रधानले बताउनुभयो । दुई दिने महोत्सवमा सहभागी हुन जाने पर्यटकका कारण बन्दिपुरका होमस्टे र होटल भरीभराउ रहेको हाम्रा सहकर्मीले जनाएका छन् । 


प्रतिक्रिया