मधेश आन्दोलनका सहिद परिवारलाई ३-३ लाख हस्तान्तरण

माघ ५, २०७८ | राजविराज

मधेश प्रदेश सरकारले मधेश आन्दोलनका सहिद परिवारलाई ३–३ लाख रुपैयाँ प्रदान गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गतको मधेशी सहिद प्रतिष्ठानद्वारा बुधबार सप्तरीको राजविराजमा आयोजित बलिदानी दिवस कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनका सहिद परिवारका सदस्यलाई ३–३ लाख रुपैयाँको चेक सहित सम्मान पत्र हस्तान्तरण गर्नुभयो । 

सो अवसरमा मधेश आन्दोलनका ५९ जना सहिदका परिवारलाई ३–३ लाख रुपैयाँका दरको चेक प्रदान गरिएको मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।

कार्यक्रममा मधेश आन्दोलनका ज्यूँदो सहिद पर्साका मन्सी पटेल सहित घाइते र अंगभंग भएका ८१ जनालाई २५ हजारदेखि ३ लाख रुपैयाँसम्म वितरण गरिएको अर्थमन्त्री साहले जानकारी दिनुभयो । 

कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश आन्दोलनकै बलमा मुलुकमा संघीयता आएको दाबी गर्नुभयो । मधेश आन्दोलनका सहिद परिवारलाई जागिरको प्रबन्ध तथा जागिरबाट वञ्चित परिवारका सदस्यलाई भरणपोषण बापत मासिक २१ हजार रुपैयाँ दिने व्यवस्था मिलाइने उहाँले बताउनुभयो । 

मधेश आन्दोलनका सहिद र अन्य आन्दोलनमा सहिद भएकाहरुको सम्मानमा मधेश प्रदेशका ५ स्थानमा प्रदेश सरकारले सहिद पार्क निर्माण गर्न लागेको जानकारी दिंदै मुख्यमन्त्री राउतले तथ्याङ्क छुटेका घाइतेहरुको पनि तथ्याङ्क समावेश गरी उनीहरुका लागि पनि सम्मानको व्यवस्था गरिने बताउनुभयो ।

अर्थमन्त्री शैलेन्द्रपसद साहले प्रदेश सरकार सहिद परिवारको सम्मान र भरणपोषणका लागि तत्पर रहेको बताउनुभयो । मधेश आन्दोलनकै बलमा मधेश प्रदेश र मधेश सरकार बनेकाले आन्दोलनका सहिदहरुको सहादत र घाइतेहरुको योगदानलाई बिर्सन नसकिने उहाँको भनाई छ । 


प्रतिक्रिया