राष्ट्रियसभा निर्वाचन : मौन अवधि सुरु

माघ १०, २०७८

राष्ट्रिय सभाको आसन्न निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । बुधबार हुने राष्ट्रियसभा चुनावकालागि गएको मध्यरातिबाट निर्वाचनको मौन अवधि सुरु भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, नागरिक समाज, आम मतदाताले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाउने छैनन् ।

त्यस्तै, आयोगले मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरी राखिएका निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाउनुपर्ने बताएको छ । सामाजिक सञ्जाल मार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण नगर्न आयोगले निर्देशन दिएको छ । राष्ट्रियसभामा रिक्त रहेका १९ पदकालागि ४३ जनाले उम्मेदवारी दिएका छन् । 


प्रतिक्रिया