रोल्पाको धाङ्सी खोलामा सम्झौता अवधिको ८ महिना अगावै बन्यो पुल

फाल्गुन ८, २०७८ | रोल्पा

रोल्पाको लिबाङसँग ह्वामा, कुरेली हुँदै थबाङ जोड्ने धाङ्सी खोलामा पक्की पुलको निर्माणको काम सम्झौता अवधि भन्दा ८ महिना अघि नै सम्पन्न भएको छ । 

निर्माण कम्पनी एशियाटिक/राज जेभी तालाबाङ–३ ले सम्झौता अवधि भन्दा ८ महिना अघि नै निर्माण सम्पन्न गरी लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । धाङ्सी खोलामा दुई वर्षभित्र पुलको निर्माणका लागि निर्माण व्यवसायी राजवीर घर्तीमगरले २०७७ असोज २५ गते ठेक्का पाएको थियो । 

सम्झौता गर्दा वर्षाको समय भएकाले उनले केही महिनापछि हिउँदबाट काम थालेका थिए । यद्यपि, निर्माण सम्झौताको पूरा अवधि अगावै उनले पुल निर्माण गरी सरकारलाई हस्तान्तरण गरेका हुन् । पुलको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले निर्माण व्यवसायीलाई प्रसंशा पत्र समेत प्रदान गर्नुभयो । 

मुख्यमन्त्री केसीले भन्नुभयो, ‘सम्झौता अवधि भन्दा ८ महिना अघि नै पक्की पुल निर्माण गरेकाले निर्माण व्यवसायी घर्तीमगरलाई धन्यवाद र प्रसंशा पत्र प्रदान गर्न पाउनु खुशीकै कुरा हो ।’ 

प्रदेश सरकारको ५ करोड ६१ लाख ४९ हजार ५ सय ४९ रुपैयाँ लागतमा नयाँ प्रविधि प्रि–स्ट्र्ेस्ड मोडलबाट ६४.९५ मिटर लम्बाई र ८.४ मिटर चौडाई रहेको सो पुल निर्माण सम्पन्न भएको हो । 

२०७९ असोज २४ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनी एशियाटिक/राज जेभी तालाबाङ–३ सँग सरकारले २०७७ असोज २५ मा सम्झौता गरेको थियो । पुल बनाउने अवधि २४ महिनासम्मलाई सम्झौता गरिएको भएपनि पुल १६ महिनामै तयार भएको हो । 

निर्माण व्यावसायी घर्तीले यसअघि चालू वर्षमा सुलिचौर नजिक लुङ्री खोलामा र अघिल्लो वर्ष माडी खोलामा सडक पुल बनाएका थिए । उनले ती पुल पनि सम्झौता अवधि अघि नै निर्माण सम्पन्न गरेका थिए । 

जिल्ला सडक पूर्वाधार कार्यालयका प्रमुख इन्जिनियर दिपक खड्काले सम्झौता अवधि भित्रै पुल निर्माण गरेकामा निर्माण व्यावसायीलाई धन्यवाद दिनुभयो । उहाँका अनुसार जिल्लामा अन्य पुल निर्माणको जिम्मा पनि उनले लिएका छन् । 


प्रतिक्रिया