उडिरहेको हेलिकप्टरमै धनलक्ष्मीले जन्माईन छोरा

फाल्गुन १७, २०७८ | मुगु

मुगुको खत्याड गाउँपालिका–४ जिउका गाउँकी २० वर्षीया धनलक्ष्मी रावलले मंगलबार दिउँसो उडिरहेको हेलिकप्टरमै छोरा जन्माएकी छन् । 

पेटमा बच्चा उल्टो भएर गाउँमा सुत्केरी हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत लैजाने क्रममा धनलक्ष्मीले आकाशमै छोरा जन्माएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनुभयो । 

उनलाई प्रादेशिक अस्पताल सुर्खेतमा भर्ना गरिएको र उनको स्वास्थ्यमा कुनै समस्या नदेखिएको महतको भनाई छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उनलाई सेनाको फिस्टेल हेलिकप्टर मार्फत उद्धार गरेको हो । 

मुगुमा गत साउनदेखि अहिलेसम्म चार जना सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिसकेको जिल्ला प्रशासन कार्यालय जनाएको छ । 

२०७५ सालदेखि हिमाली जिल्लामा राष्ट्रपति महिना उत्थान कार्यक्रम लागू भएपछि सुत्केरी हुन नसकेका गर्भवतीको ज्यान बच्न थालेको छ । विगत वर्षहरुमा सो सुबिधा नहुँदा सुत्केरीको मृत्यु हुने गरेको थियो । 


प्रतिक्रिया