कार्यक्षेत्रमा दुव्र्यवहार हुने गरेको महिला पत्रकारको गुनासो

जेष्ठ २७, २०७९

महिला पत्रकारले कार्यक्षेत्रमा खटिदा दुव्र्यवहार हुने गुनासो पोखेका छन् । धनकुटाको भेडेटारमा आज आयोजित प्रदेश नं.१ का महिला पत्रकारहरुको भेलाका सहभागीले सो गुनासो पोखेका हुन् । समाचार संकलन तथा अन्य जिम्मेवारीका काममा सक्रिय रहँदा आइपर्ने दुव्र्यवहारजन्य घटनालाई उजागर गर्न नसक्दा घटनाले प्रश्रय पाउने भएकाले आफुहरु चुप लागेर नबस्ने सहभागीले बताए । संखुवासभाकी पत्रकार अंकिता घिमिरेले सहजरुपमा काममा जान घरपरिवार समेत बाधक हुने बताइन् । उनले असुरक्षा हुने डरले परिवारले सहजरुपमा काममा जान नदिने जनाईन् । यस्तै, सोलुखुम्बुकी पत्रकार अञ्जु कार्कीले भौगोलिक कठिनाइका कारण ६, ७ घण्टा पैदल यात्रा गरेर समाचार संकलन गर्नु पर्ने अवस्था रहेको बताइन् ।

कतिपयले कार्यक्षेत्रमा हुने दुव्र्यवहारजन्य क्रियाकलापलाई खुलेर अझै व्यक्त गर्न नसकेको बताए । न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजना र नेपाल पत्रकार महासंघ प्रदेश नं.१ को संयोजनमा आयोजित भेलामा प्रदेशका करिब एक सय महिला पत्रकार सहभागी थिए । कार्यक्षेत्रमा देखिएका समस्यालाई लुकाउने भन्दा गम्भीर रुपमा अगाडी बढाउन जरुरी रहेको न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले बताउनुभयो । उहाँले देशव्यापी समस्या भएपनि कतिपयले आफ्ना समस्यालाई उजागर गर्न नसकेको बताउनुभयो । 


प्रतिक्रिया