अधिकृतसहित तीनविरुद्ध ५ करोड बढीको भ्रष्टाचार मुद्दा

रेडियो कान्तिपुर संवाददाता

असार १०, २०७९ | काठमाडौं

नदीजन्य वस्तु उत्खननमा अनियमितता गरेको आरोपमा बारास्थित जितपुर सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

पसाहा र र बालगंगा खोलाबाट नदीजन्य वस्तु उत्खनन, संकलन तथा बिक्री बापतको रकम हिनामिना गरेको आरोपमा अख्तियारले आज तत्कालिन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई, ठेकेदारद्वय ओमशंकर प्रसाद र मिराकुमारी श्रेष्ठविरुद्ध ५ करोड २६ लाख ६ सय ८७ रुपैयाँ बिगो, मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

पसाहा खोलाको नदीजन्य सामग्री उत्खननका क्रममा सम्झौता अनुसार काम नगर्ने ओमशंकर प्रसादको ओम सप्लायर्ससँगको मिलेमतोमा राजश्व छली गरेको भन्दै सेढाई उपर ९९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ बराबरको बिगो, कैद र जरिवाना मागदाबीसहित मुद्दा दायर गरिएको छ । सोही प्रकरणमा ओम सप्लायर्सका सञ्चालक ओमशंकरविरुद्धल १ करोड ३८ लाख ९९ हजार ९ सय ९८ रुपैयाँ बिगो बमोजिम जरीवाना र कैद सजायको माग गरिएको छ ।

यसैबीच, प्रमुख प्रशासकीय अधिकृत सेढाईकै मिलेमतोमा बालगंगा खोला उत्खननमा पनि अनियमितता भएको अख्तियारको ठहर छ । हेटौडाको न्यू पाथिभरा सप्लायर्स, सँगको मिलेमतोमा छली गरेको १ करोड २० लाख २८ हजार ९० रुपैयाँ बराबरको बिगो, जरिवाना र कैद सजायको मागदाबी सहित सेढाई उपर मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

सोही प्रकरणमा राजश्व दाखिला नगरी हिनामिनामा संलग्न न्यू पाथिभरा सप्लायर्सका सञ्चालक मिराकुमारी श्रेष्ठविरुद्ध पनि अख्तियारले १ करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ बिगो, जरीवाना र कैद सजायको माग दाबी गरेको छ । 


प्रतिक्रिया