सप्तकोसी गाउँ पस्यो २ हजार ५ सय परिवार विस्थापित

श्रावण १८, २०७९

धार परिर्वतन गर्दै सप्तकोसी नदी उदयपुरको वेलका नगरपालिका–८ डुम्रिवोटेबाट तल्लो तटीय क्षेत्रका वस्तीमा पस्दा २ हजार ५ सय परिवार विस्थापित भएका छन् । नदीले डुम्रिवोटेमा झण्डै ३ सय मिटर जमिन कटान गर्दा धार नै परिर्वतन भएको हो । कोसी नदी पस्दा बेलकाका तीन वटा वडा तथा सुनसरीको बराहक्षेत्र नगरपालिकाका दुई वडाका गरी २ हजार ५ सय परिवार विस्थापित भएको उदयपुरका प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले बताउनुभयो । 

उहाँका अनुसार डुवानमा परेका वस्तीबाट स्थानीयवासीलाई उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासी खटिएका छन् । उद्धार गरिएका घरपरिवारलाई उच्च स्थानमा रहेका विद्यालय, सामुदायिक भवन, मन्दिर तथा चर्चमा राख्ने तयारी गरिएको बेलका नगरप्रमुख अशोक कार्कीले बताउनुभयो । पूर्वी पहाडमा लगातारको बर्षातसगै कोसी नदीमा आएको बाढीले पछिल्लो सयम कटान तीव्र पारेको छ । बिशेष गरेर डुम्रिबोटेमा कटान गर्दै आएको कोसी सोहि स्थानबाट बेलका नगरपालिकाको क्षेत्रमा पसेको हो । कोसी पश्चिम पसेसँगै बेलका नगरपालिकाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी लगायतका वस्ती प्रभावित भएको हाम्रा सहकर्मीले जनाएका छन् । 


प्रतिक्रिया