लोकतन्त्र जोगाउन गठबन्धनले जित्नुपर्छ : चित्रबहादुर केसी

मंसिर १, २०७९ | बागलुङ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको लोकतन्त्र खतरामा परेको बताउनु भएको छ । सत्ता गठबन्धनबाट बागलुङ निर्वाचन क्षेत्र नंं १ का उम्मेदवार समेत रहेका केसीले धरापमा परेको लोकतन्त्र संस्थागत गर्नका लागि बुढ्यौलीमा पनि निर्वाचनमा होमिएको उहाँले बताउनुभयो । लोकतन्त्र जोगाउन कांग्रेस सहितको गठबन्धन गरेर निर्वाचनमा जानु परेको उहाँको भनाई छ ।

 गठबन्धनका उम्मेदवारले बागलुङ बजारमा गरेको पत्रकार सम्मेलनमा केसीले जसले संसद पटक पटक भत्कायो, उनीहरुबाटै लोकतन्त्र खतरामा परेको टिप्पणी गर्नुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले समावेश गरेका दल र समूह व्यवस्था विरोधी भएको पनि उहाँले आरोप लगाउनुभयो । ‘ओलीले राजावादी, धार्मिक अतिवादी र बिखण्डनवादीको साथमा गठबन्धन गरेर व्यवस्था विरोधी गठबन्धन बनाएका छन्’, केसीले भन्नुभयो, ‘फेरि लोकतन्त्र र संसदनै विघटन गर्नेलाई मत दिने की रक्षा गर्नेलाई भन्ने फैसला जनताले गर्नेछन् ।’ अध्यक्ष केसीले आर्थिक, सामाजिक क्रान्ति गर्ने र स्थायी सरकार दिने भनेर वाम गठबन्धनमा लाग्दा ओलीले धोका दिएपछि वर्तमान गठबन्धन बनेको जिकिर गर्नुभयो ।

लोकतन्त्रलाई खतरामा लैजान विदेशी शक्ति र छिमेकी राष्ट्रपनि लागेको उहाँले टिप्प्णी गर्नुभयो । ‘नेपालमा लोकतन्त्र देख्न नचाहने छिमेकीले पनि उनको अभियानलाई साथ दिएका छन्’ केसीले भन्नुभयो, ‘यो उमेरमा सांसद हुन मन थिएन, एक पटक राष्ट्रियता विरोधी, संसद विरोधी र लोकतन्त्र विरोधीको कुकृत्य विरुद्ध संसदमा बोल्न मन लागेपछि उमेदवार भएँ ।’ अध्यक्ष केसीले संसदमा पुगेर षडयन्त्रकारी विरुद्ध आवाज उठाउने भन्दै ५ दलीय गठबन्धनले पनि आफूलाई उठ्न आग्रह गरेकाले निर्वाचनमा गठबन्धनकै बहुमत आउने दाबी गर्नुभयो ।

लोकतन्त्र र गणतन्त्र जोगाउन राजनीतिक दल, सञ्चार क्षेत्र र जनता पनि सचेत बन्नुपर्ने केसीको सुझाव थियो । ‘दलहरु व्यपारी बन्नु भएन, सच्चा सेवामा लाग्नुपर्छ, मिडियाले लोकतन्त्रको पक्षमा लेख्नुपर्छ’, केसीले भन्नुभयो, ‘जनतापनि अब जागरुक बनेर सहीलाई सही र झुटालाई झुटा भन्न सक्नुपर्छ ।’

नेपालमा अझैपनि दल, मिडिया र आम नागरिकमा परिपक्वता नभएको उहाँको भनाई छ । संसद भंग गर्ने, संसद चल्न नदिने अनि उनीहरुनै संसदमा जान खोज्नेलाई जनताले चिन्नुपर्ने उल्लेख गर्नुभयो । 


प्रतिक्रिया