नायक पल शाहले मतदान गर्न नपाउने

मंसिर ३, २०७९

अघिल्ला निर्वाचनमा मतदान गर्नबाट वञ्चित रहेका कैदीबन्दीका लागि कारागारमै मतदान केन्द्र बनाइएको छ । मतदाता नामावली भएका कैदीबन्दीले कारागारमा बनाइएको अस्थायी मतदान केन्द्रबाट प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ मतदान गर्न पाउने भएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताउनुभयो । अस्थायी मतदाताले अन्य मतपत्रमा मतदान गर्न नपाउने मतदाता नामावली ऐन, २०७३ को दफा ३० मा रहेकाले यसपटक उनीहरुले प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फमात्रै मतदान गर्न पाउने व्यवस्था गरिएको ढकालले बताउनुभयो । 

तनहुँ कारागारमा २८१ पुरुष र १४ महिला गरी २९५ कैदीबन्दी छन् । उनीहरुमध्ये ९० जना पुरुष र ४ जना महिला गरी ९४ जना कैदीबन्दीले मात्रै मतदान गर्न पाउने कारागार कार्यालय दमौली अस्थायी मतदान केन्द्रका मतदान अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो । उहाले सो केन्द्रमा आफू लगायत एक सहायक मतदान अधिकृत र एक कार्यालय सहयोगी खटाइएको बताउनुभयो । यस्तै मतदाता नामावलीमा नाम नभएको हुँदा नावालिगलाई जबरजस्तिकरणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल (पुर्णबिक्रम) शाहले भने मतदान गर्न नपाउने उहाँले उल्लेख गर्नुभयो ।

यसैगरी मतदान गर्नबाट बञ्चित रहेका निजामति कर्मचारीका लागि पनि कृषि ज्ञान केन्द्र अस्थायी मतदान केन्द्र बनाइएको छ । सो मतदान केन्द्रमा करिव एक हजार ७२ जना कर्मचारीले मतदान गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचनका लागि विभिन्न केन्द्रमा खटिएका कर्मचारीले भने सोही केन्द्रमै मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ । 


प्रतिक्रिया