डडेलधुरामा ५६ प्रतिशत मत खस्यो

मंसिर ४, २०७९ | डडेलधुरा

डडेलधुरामा ५६ प्रतिशत भन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । ९१ हजार २ सय मतदाता रहेको डडेलधुरामा ५६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले बताउनुभयो । ‘मतदान सकिदासम्म ५६ प्रतिशत मत खसेको तथ्यांक आएको छ’, मुख्य निर्वाचन अधिकृत वाग्लेले भन्नुभयो, ‘अझै यकिन तथ्यांक आउन बाँकी छ ।’ 

जिल्लाका १ सय १ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । जिल्लाका कुनैपनि मतदान केन्द्रमा कुनैपनि अप्रिय घटना नघटेको पनि मुख्य निर्वाचन अधिकृत वाग्लेले जानकारी दिनुभयो । ‘राति अबेरसम्म सबै मतदान केन्द्रबाट तथ्यांक आएपछि मात्र कति प्रतिशत मत खस्यो यकिन तथ्यांक आउन सक्छ’, वाग्लेले भन्नुभयो, ‘जिल्ला सदरमुकामदेखि ८० किलोमिटर दुर्गममा रहेका मतदान केन्द्रबाट अहिलेसम्म तथ्यांक आउन सकेको छैन ।’ प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार रहेको डडेलधुरामा एउटा मात्र प्रतिनिधिशभा क्षेत्र छ ।

 देउवा सहित ८ जना उम्मेदवारको प्रतिस्पर्धा रहेको डडेलधुरामा मत गणना भने कहिले सुरु हुने भन्ने यकिन नभएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । जिल्लाको दुर्गममा रहेका मतदान केन्द्रबाट मतपेटिका आउन समय लाग्ने भएकाले मतगणनामा केहीढिलाई हुने कार्यालयले जनाएको छ ।


प्रतिक्रिया