नार्पाभूमिको मतपेटिका हेलिकप्टरबाट ल्याइयो

मंसिर ५, २०७९

हिमाली जिल्ला मनाङको पनि दुर्गम नार्पाभूमिबाट मतपेटिका हेलिकप्टर मार्फत ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत नार्पाभूमि गाउँपालिका १ देखि ३ वडासम्म नार गाउाको ३ वटा मतदान केन्द्र साथै ४ र ५ वडा फूको २ वटा मतदान केन्द्रको मतपेटिका सदरमुकाम चामे ल्याइएको हो । प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार नार र फू गाउाको मतपेटिकालाई २/२ पटक गरेर नेपाली सेनाको हेलिकप्टर मार्फत ल्याएको छ ।

 सदरमुकाम चामेमा रहेको सशस्त्र प्रहरीको हेलिप्याडमा झारिएको मतपेटिकालाई जिल्ला अदालतमा लगिएको छ । अरु सबै मतपेटिका आइतबार नै सदरमुकाम चामे पुर्‍याइएको छ । सदरमुकामसम्म आउन करीब ३ दिन लाग्ने भएपछि हेलिकप्टर मार्फत मतपेटिका ढुवानी गरिएको प्रजिअ आचार्यले बताउनुभयो । 

डीएसपी प्रेमसागर केसीका अनुसार हेलिकप्टरले ढुवानी गरेको मतपेटिकालाई कडा सुरक्षाकाबीच जिल्ला अदालतको मतगणनास्थलमा पुर्‍याइएको छ । मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले नार र फूबाट मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिएको र सर्वदलीय बैठकपछि गणना गरिने बताउनुभयो । उहाँका अनुसार जिल्ला अदालतमा मतगणनाको लागि तारजाली लगाएर मतगणनास्थल बनाइएको र सीसी क्यामरा पनि जडान गरिएको उहाँले जानकारी दिनुभयो । 

जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार कुल ४ सय ६८ मतदाता रहेको नार्पाभूमि गाउापालिकामा ३ सय १८ मत खसेको छ । उहाँका अनुसार नार्पाभूमि १ को मतदान केन्द्रमा ६१, २ बाट ७५, ३ बाट ८५ मत खसेको छ । यस्तै, वडा नं. ४ बाट ५१ र वडा नं. ५ को मतदान केन्द्रबाट ४६ मत खसेको छ । मनाङमा मतदाता ६ हजार ७ सय ७९ रहेकोमा ४ हजार ८ सय ४५ अर्थात ७१ दशमलव ४७ प्रतिशत मत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार २ हजार ४ सय ८६ महिला र २ हजार ३ सय ५९ पुरुषले मतदान गरेका छन् । गत स्थानीय निर्वाचनमा ६२ दशमलब ६० प्रतिशत मत खसेको थियो । त्यतिबेला कुल ६ हजार ४ सय ९६ मतदाता रहेकोमा ४ हजार ६७ मत खसेको थियो । स्थानीय निर्वाचनमा भन्दा प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्ने मतदाताको प्रतिशत बढेको शर्माले बताउनुभयो । 


प्रतिक्रिया