उदयपुर क्षेत्र नं.१ मा अझै मतगणना सुरु भएन

मंसिर १२, २०७९

उदयपुर क्षेत्र नं.१ मा अझै मतगणना सुरु भएको छैन । दुई दिनयता रोकिएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपनि अझै सुरु हुन नसकेको हाम्रा सहकर्मीले बताएका छन् । मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले दलहरुको अडानका कारण मतगणना सुरु हुन नसकेको बताउनुभयो । पटक—पटक बसेको सर्वदलिय बैठकमा कांग्रेस र एमालेका नेताहरुबीच भनाभनको अबस्था देखिएपछि मतगणना सुरु गर्न नसकेको आयोगको भनाई छ ।

हिजो मतगणनाका क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा प्रदेश सभाको १०० मत पत्र भेटिएकोले गणना रोकिएको थियो । ६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० वटा मतपेटिका खोलिएको थियो । त्यसै क्रममा प्रदेश २ को सय मतपत्र भेटिएपछि दलहरूले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन् । नेपाली कांग्रेस उम्मेदवार नारायण खड्काले १ हजार ८ सय २५ मतले अग्रता लिनुभएको छ । खड्काले २७ हजार ४ सय ८४ मत प्राप्त गर्नुभएको छ । एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६ सय ५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।


प्रतिक्रिया