वैदेशिक रोजगारमा हुने विकृति रोक्न व्यवसायीलाई मन्त्री कुँवरको निर्देशन

मंसिर १३, २०७९ | काठमाडौं

वैदेशिक रोजगारीमा हुने विकृति र विसंगति रोक्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले रोजगार व्यवसायीलाई निर्देशन दिनु भएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली ठगिने र सम्झौता अनुसारको काम नपाउने गुनासो बढ्न थालेपछि यसको व्यवस्थापन गर्न मन्त्री कुँवरले व्यवसायीलाई निर्देशन दिनु भएको हो ।

 मंगलबार मन्त्रालयमा १ हजार बढी कामदार मलेसिया पठाउने म्यानपावर व्यवसायीसँग भएको छलफलमा मन्त्री कुँवरले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउन सबै मिलेर जानुको विकल्प नभएको बताउनुभयो । मलेसियमा फ्रि भिसा फ्रि टिकट भएपनि कामदारबाट चर्को रकम असुलेका गुनासो आउने गरेकाले यसको जिम्मेवार म्यानपावर व्यवसायी नै भएको उहाँले बताउनुभयो । 

‘सरकारले नीति नियम बनाएको छ, फ्रि भिसा फ्रि टिकटमा कामदार पठाउन श्रम सम्झौता गरेको छ, तर फेरि एक जना सामान्य परिवारको व्यक्ति मलेसिया जान लार्खौ रकम तिर्न बाध्य छन्’, उहाँले भन्नुभयो, ‘यो विषयमा हामी पनि अनुगममा कडाई गर्छौं तपाईहरुले पनि विशेष ध्यान दिनु होला ।’ 

वैदेशिक रोजगारीमा भइरहेको विकृतिलाई न्यूनिकरण गरी मर्यादित रोजगारी बनाउन सुधारको बटोमा अगाडि बढ्नु पर्ने उहाँले बताउनुभयो । सरकारको तर्फबाट नीति नियम संशोधन र अनुगमनको बाटो बलियो बनाउनेमा आफू सधैं तयार रहेको मन्त्री कुँवरको भनाई छ । कार्यक्रममा मन्त्री कुँवरले व्यवसायी पनि राज्यको एक हिंसा भएकाले व्यवसायीका मागलाई सम्बोधन गर्न सरकार बाधक नभएको भन्दै उहाँले समस्या र मागलाई प्रष्टसँग राख्न व्यवसायीलाई अनुरोध गर्नुभयो ।

मलेसियामा फ्रि भिसा फ्रि टिकटमा जाने कामदारको सम्झौता अनुसारको काम र तलब नपाउने र मेडिकलको समस्या धेरै आउने भएकाले यसको समाधानका लागि मन्त्रालय तयार रहेको मन्त्री कुँवरले बताउनुभयो । अब सरकारले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति र संस्थाविरुद्ध कारवाही नरोकिने र यसबाट सरकार पछि नहट्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । 

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई ठगीरहित रोजगारी प्रत्याभूत गर्न सरकार क्रियाशील रहेको उहाँको भनाइ छ । छलफल कार्यक्रममा मन्त्रालयका सचिव एक नारायण अर्यालले पछिल्लो समय मलेसियामा कामदार ठगिने समस्या धेरै आएकाले यसलाई व्यवस्थापन गर्नका लागि व्यवसायीलाई अनुरोध गर्नुभयो । 

मलेसियामा सहज रुपमा कामदार पठाउने विषयमा वैदेशिक रोजगार ऐनमा भएका केही अप्ठयारो बुँदालाई संशोधन गर्न मन्त्रालय तयार रहेको पनि उहाँले जानकारी दिनुभयो । 

त्यस्तै कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले विभागमा आउने गरेका पीडितका उजुरी र म्यानपावर कम्पनिको बारेमा जानकारी गराउनु भएको थियो ।

म्यानपावर व्यवसायीले भने फ्रि भिसा फ्रि टिकटमै कामदार पठाउने गरेको र बीचमा कामदारलाई ल्याउने एजेण्डका कारण व्यवसायीको बदनाम हुने गरेको बताएका छन् । एजेण्टलाई रोक्नका लागि नीति नियम बनाउन सरकारलाई व्यवसायीहरुको आग्रह छ ।

 त्यस्तै म्यानपावर व्यवसायीले मलेसियाबाट कामदारको माग ल्याउने बेला नै पैसा तिर्नुपर्ने भएकाले आफूहरुले बाध्य भएर कहिँ कतै पैसा लिने गरेको बताएका छन् । सरकारले २०७५ कार्तिक १२ गते मलेसियामा फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकलाई पठाउने गरी श्रम सम्झौता गरेको थियो । तर, अहिलेसम्म पनि त्यो प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन् ।


प्रतिक्रिया