दोलखामा बिहीबार हुने पुन: मतदानको तयारी पूरा

मंसिर १४, २०७९ | दोलखा

दोलखामा भोलि हुने पुन: मतदानको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको छ । भोलि हुने निर्वाचनका लागि ४ वटै मतदानस्थलका १० मतदान केन्द्रसहित राजमार्ग र गाउँमा १ हजार ४ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । 

मंसिर ४ मा सम्पन्न मतदानमा एमालेले चार स्थानमा बुथ कब्जा गरेको भन्दै सत्तारुढ गठबन्धनले तत्काल मतगणना गर्न अस्वीकार गरेको थियो । दोलखाका १० मतदान केन्द्रमा मतदान कार्य स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन नसकेकाले पुन: मतदान गर्ने निर्णय निर्वाचन आयोगको गरेको थियो । 

जिल्लाका ४ वटा मतदानस्थलका १० वटा मतदान केन्द्रमा भोलि हुने पुन: मतदानको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी नायब उपरीक्षक गंगा प्रसाद पौडेलले जानकारी दिनुभयो । 

सुरक्षा चुनौती रहेको दोलखाको क्षेत्र नम्बर १ (१) को बैत्यश्वर गाउँपालिका–६, ३ र २ नं वडाको ८ वटा मतदान केन्द्र र तामाकोशी गाउँपालिका–२ स्थित हेल्थपोष्ट मतदानस्थलको २ वटा केन्द्रमा सुरक्षा निकै कडा पारिएको छ । 

निर्वाचन र मतदातालाई सुरक्षित मतदान गर्न प्रहरी टोल टोलमै खटिएको दोलखाका प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिनुभयो । मतदानका लागि आउने र मतदानपछि फर्कने मतदातालाई सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा सहित घरसम्म फर्कने व्यवस्था गरेको उहाँले बताउनुभयो । 

मतदानका लागि १० जना मतदान अधिकृत सहित ८८ जना कर्मचारी खटाईएको मुख्य निर्वाचन अधिकृत दिल्लीरत्न श्रेष्ठले बताउनुभयो । मतपत्रसहित मतपेटिका र अन्य सामग्री पनि मतदानस्थल पुगिसकेको छ । सो मतदान केन्द्रमा कुल ८ हजार ५ सय १४ जना मतदाता रहेका छन् ।


प्रतिक्रिया