प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ अन्तिम नतिजा सार्वजनिक

मंसिर १९, २०७९

निर्वाचन भएको १५ दिनपछि प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ अन्तिम नतिजा सार्वजनिक भएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ र प्रदेशसभाको ३ सय ३० सिटको नतिजा आज सार्वजनिक भएको हो । अन्तिम नतिजाको रुपमा एक मात्र क्षेत्र रहेको दोलखाबाट प्रतिनिधि सभाका लागि माओवादी केन्द्रका गंगा कार्कीले एमालेका बालकृष्ण शिवाकोटीलाई ३ सय १७ मतले पराजित गर्नुभएको छ । कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गर्दा शिवाकोटीले ३६ हजार ४ सय ८२ मत प्राप्त गर्नुभयो । दोलखामा भएको जितसँगै माओवादी केन्द्रले प्रत्यक्षमा १८ सिट जितेको छ ।

समग्रमा नेपाली काँग्रेसले ५७ क्षेत्रमा जीत हासिल गर्दै ठूलो दल बनेको छ । काँग्रेसले गत २०७४ को निर्वाचनमा २३ क्षेत्रमा जित हासिल गरेको थियो । यस्तै नेकपा एमालेले ४४ क्षेत्रमा विजयी भएको छ । गत निर्वाचनमा ८० निर्वाचन क्षेत्रमा विजयी एमाले यस पटक झण्डै ५० प्रतिशत निर्वाचन क्षेत्रमा पराजय व्यहोर्न पुग्यो । यस्तै गत निर्वाचनमा ३६ क्षेत्रमा विजयी हाशिल गरेको माओवादी केन्द्रले यस पटक १८ क्षेत्रमा सीमित बन्न पुगेको छ । यस्तै एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, राष्ट्रिय स्वतन्त्र पार्टी ७, स्वतन्त्र उम्मेदवार ५, लोकतान्त्रिक समाजवादी पार्टी ४ र नागरिक उन्मुक्ति पार्टी ३ क्षेत्रमा विजयी भएका छन् । नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा एक/ एक क्षेत्रमा निर्वाचित भएका छन् । प्रदेशसभाको प्रत्यक्षतर्फ समेत सबै नतिजा सार्वजनिक भएपनि समानुपातिकतर्फको मतगणना भने बाँकी छ । निर्वाचन आयोगले केही दिनभित्र समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया