रुपन्देहीका तीन पालिकाले संयुक्त लगानीमा वारुणयन्त्र खरिद गर्दै

मंसिर २१, २०७९ | तिलोत्तमा

रुपन्देहीको तीन वटा स्थानीय तहले संयुक्त लगानीमा वारुणयन्त्र सञ्चालन गर्ने भएका छन् । देवदह नगरपापालिका, रोहिणी र ओमसतिया गाउँपालिकाले संयुक्त लगानीमा वारुणयन्त्र सञ्चालन गर्ने भएको हो । 

रोहिणी गाउँकार्यपालिकाको कार्यालयमा बसेको संयुक्त बैठकले तीनै पालिकाको लगानीमा वारुणयन्त्र खरीद गरी सञ्चालनमा ल्याउने निर्णय गरेको ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले बताउनुभयो । वारुणयन्त्र खरिदको लागि देवदह नगरपालिकाले ५० प्रतिशत, ओमसतिया र रोहिणी गाउँपालिकाले २५/२५ प्रतिशत लगानी गर्ने सहमति भएको गौतमले जानकारी दिनुभयो । 

वारुणयन्त्र खरिद गरी सञ्चालनमा आए पश्चात विपद् व्यवस्थापनमा सहयोग पुग्ने उहाँको विश्वास छ । तीनै पालिकाको संयुक्त लगानीमा खरिद गरिने वारुणयन्त्र देवदह नगरपालिका–१, मा व्यवस्थापन गरी सञ्चालन गर्ने निर्णय भएको छ । 

तीनै पालिकामा हुने विपद् व्यवस्थापन गर्ने गरी वारुणयन्त्र सञ्चालन कार्यविधि निर्माण गर्ने सहमति भएको छ । वारुणयन्त्र सञ्चालन र व्यवस्थापनको कार्यविधि निर्माण गर्नको लागि देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । 

समितिको सदस्यमा रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम, ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतम सदस्य, देवदह नगरपालिकाका इञ्जिनियर राजकुमार यादव र रोहिणी गाउँपालिकाका लेखा अधिकृत कृष्ण प्रसाद ज्ञवाली छन् ।


प्रतिक्रिया