माओवादी केन्द्रका अध्यक्ष दाहालको निर्वाचन खर्च २२ लाख

मंसिर २१, २०७९ | गोरखा

प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन खर्च सार्वजनिक गर्नु भएको छ । दाहालले निर्वाचनमा २२ लाख ६४ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नु भएको हो । 

दाहालका प्रतिनिधि भगवति भट्ट तिवारी मार्फत निर्वाचन खर्च विवरण पेश भएको जिल्ला निर्वाचन कार्यालयका गोरखामा प्रमुख टेकबहादुर कोइरालाले जानकारी दिनुभयो । सवारी साधान, प्रचार सामग्री, प्रचारप्रसार प्रतिनिधि परिचालनमा २२ लाख ६४ हजार पाँच सय रुपैयाँ खर्च भएको दाहालले निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणमा उल्लेख छ । 

मतगणना सकिएको ३५ दिन भित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ । दाहालले मंसिर १५ गते नै खर्च विवरण पेश गरेका हुन् । गोरखा–२ को मतदाता संख्या, क्षेत्रफल, र मतदान केन्द्रको आधारमा प्रतिनिधि सभातर्फ २९ लाख रुपैयाँसम्म खर्चको हद तोकिएको थियो । गोरखामा प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिएका मध्ये ४९ मध्ये बुधबारसम्म १९ जनाले खर्च विवरण बुझाएका छन् । 


प्रतिक्रिया