मर्स्याङ्दीले बगाउँदा लमजुङमा सशस्त्र प्रहरी बेपत्ता

पुस १५, २०७९ | लमजुङ

लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, काप्रेभीरबाट खस्दा एकजना सशस्त्र प्रहरीलाई मर्स्याङ्दी नदीले बगाएको छ ।

लमजुङको बेंसीसहरदेखि मनाङतर्फ जाँदै गरेको ग१ज ७३३५ नम्बरको जिपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त महत पिसाव फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेको हो ।

सशस्त्र प्रहरी बल आश्रित गुल्म लमजुङका डीएसपी मानबहादुर शाहीका अनुसार शुक्रबार बिहान १० बजेतिर सो घटना भएको हो । शाहीले बेंसीसहरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेर खोजतलास कार्य सुरु गरेको बताउनुभयो ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका ४, विजुलीकोटका महत सशस्त्र प्रहरीको २२ नं. गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नं. गुल्म हेडक्वाटर चामे मनाङ जाँदै थिए ।


प्रतिक्रिया