गाउँपालिकाका अध्यक्षलाई साढे तीन वर्ष जेल

पुस १९, २०७९ | बाग्लुङ

बाग्लुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती लागू औषध मुद्दामा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत बाग्लुङका न्यायाधीश दिवाकर भट्टको इजलासले सोमबार घर्तीलाई दोषी ठहर गर्दै साढे तीन वर्षको जेल सजाए सुनाएको छ । उनलाई ५० हजार रुपैयाँ जरिवाना समेत तोकिएको छ ।

घर्ती हाल फरार रहेको बाग्लुङ प्रहरीले जनाएको छ । २०७७ असार १२ मा निसीखोला गाउँपालिका–६ का वडा अध्यक्ष हुँदा घर्ती ८० केजी गाँजा सहित घरबाटै पक्राउ परेका थिए ।

गाँजा भण्डारण गरेको आरोपमा ०७७ भदौ ४ मा उनी विरुद्ध मुद्दा परेको थियो । दुई वर्ष अघिनै झण्डै तीन महिना पुर्पक्ष बसेपछि उनी धरौटीमा रिहा भएका थिए ।

मुद्दा विचाराधिन अवस्थामा छँदै घर्ती गत बैशाखमा निसीखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । 


प्रतिक्रिया