ताप्लेजुङमा हिउँ पर्‍यो

फाल्गुन ११, २०७९ | ताप्लेजुङ

सामान्यतयाः मंसिर अन्तिम साता देखि नै हिउँ झर्न थाल्ने ताप्लेजुङ पाथीभरा मन्दिर क्षेत्रमा हिजो बेलुका पहिलो पटक हिउँ परेको छ । बिहान घाम लागे पनि दिउँसोपछि आकास धुम्मिएको र बेलुकादेखि हिउँ पर्न थालेको हाम्रा सहकर्मी आनन्द गौतमले जानकारी दिएका छन् ।

३ हजार ७ सय ९४ मिटर उचाइँको मन्दिर क्षेत्रदेखि ३ हजार १ सय मिटरको माथिल्लो फेदीसम्म हिउँ परेको छ । पानी भने सदरमुकाम फुङलिङसम्म नै परेको थियो । यो सिजनमा माथील्लो हिमाली क्षेत्रमा हिउँ पर्दा तल्लो क्षेत्रमा पानी पर्ने गरेको छ । किसानले भने पर्याप्त हिउँ परेको हेर्न चाहेका छन् ।

सिँचाइ अभावले ओसिलो बाहेकका क्षेत्रका अलैंची सुक्न थालेको अलैंची किसान भीम गुरुङले बताउनुभयो । गहुँ, तोरी जस्ता अन्न बाली सुकेका छन् । यो वर्ष ३ हजार १ सय मिटर उचाइँका ओलाङचुङगोला, घुन्सा, फले लगायतका क्षेत्रमा यो हिउंदमा हिउँ परेको छैन ।

यसैबीच, सामान्यतया ६० मिलिमिटर वर्षा हुने हिउंदे मौसममा यसवर्ष आजसम्म जम्मा ७ दशमलव ९ मिलिमिटर मात्रै वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ । कर्णाली र सुदुरपश्चिमका केही स्थानमा बाहेक मुलुकका कुनै पनि स्थानमा वर्षा हुन नसकेको विभागले उल्लेख गरेको छ । 


प्रतिक्रिया