दुई दलद्वारा किरात–लिम्बुवान–सगरमाथा प्रदेश प्रस्ताव दर्ता

फाल्गुन १७, २०७९ | माेरङ

प्रदेश–१ को नामाकरणका लागि प्रमुख दलहरुको तर्फबाट दुई वटा नाम प्रस्ताव भएको छ । एकीकृत समाजवादी र सत्तारुढ जनता समाजवादी पार्टी जसपाले प्रदेश १ को नाम किरात–लिम्बुवान–सगरमाथा राख्न माग गर्दै प्रस्ताव दर्ता गराएका छन् । नामकरणका लागि दर्ता गरिएको प्रस्तावमा एकीकृत समाजवादीका नेता राजेन्द्र कुमार राई प्रस्तावक, जसपाकी सांसद निर्मला लिम्बु र एकीकृत समाजवादीका कमल प्रसाद जबेगु समर्थक रहेका छन् ।

प्रस्तावक राईले सुरुमा माओवादी केन्द्रले छुट्टै प्रस्ताव दर्ता गराउने सहमति गरे पनि दर्ता गराउने बेलामा पन्छिएको आरोप लगाउनुभयो । कंग्रेस र एमालेको तर्फबाट प्रदेशको नाम कोशी राख्नुपर्ने प्रस्ताव अघि सारिएको छ । तर कांग्रेसले कोशी प्रदेश नामकरणका लागि दिएको समर्थन भने फिर्ता लिएको छ । सो प्रस्तावका समर्थक कांग्रेसका प्रदेशसभा सदस्य भूमिप्रसाद राजबंशीले समर्थन फिर्ताका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराउनुभएको छ ।

कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले कोशी प्रदेश नामकरण प्रस्तावमा एमाले प्रस्तावक र कांग्रेस र माओवादी केन्द्र समर्थक बस्ने सहमति भएको बताउनुभयो । तर प्रस्ताव दर्ता गराउने बेलामा माओवादी पूर्वसहमति अनुसार समर्थक नबसेकाले कांग्रेसले पनि समर्थन फिर्ता लिएको उहाँको भनाइ छ ।

समर्थन फिर्ता लिएपनि मतदान भने कोशी प्रदेशको प्रस्तावमा नै गर्ने उहाँले बताउनुभयो । माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको नामकरण गर्नैपर्ने अवस्था भएकाले कोशी प्रदेशमा नै मतदान गर्ने निर्णय भएको बताउनुभयो । 


प्रतिक्रिया