सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिने

फाल्गुन २१, २०७९ | कैलाली

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिदै हुनुहुन्छ । संविधानको धारा १ सय ६८ को उपधारा (२) वा (३) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै विश्वासको मत लिनु पर्ने प्रावधान छ । कंग्रेसबाट मुख्यमन्त्री बनेका शाहले विश्वासको मत लिनका लागि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो ।

एमालेका तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल बहुमत जुटाउन नसकेर पदमुक्त भएपछि उपधारा (३) बमोजिम ठुलो दलको संसदीय दलका नेताको हैसियतले शाह मुख्यमन्क्रीमा नियुत्त हुनु भएको थियो । प्रदेश प्रमुख देवराज जोशीले माघ २६ गते शाहलाई मुख्यमन्क्रीमा नियुत्त गर्नु भएको हो । यद्यपि, यसअघि बहुमत नपुग्ने अवस्थाका कारण मुख्यमन्त्री शाहले विश्वासको मत लिने मिति तय गर्न ढिलाइ गर्नु भएको थियो ।

मुख्यमन्क्री नियुत्त भएको भोलिपल्ट नै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका शाहले मन्त्रिमण्डल विस्तार गर्न सक्नुभएको छैन । विश्वासको मतपछि मन्त्रिपरिषद् सदस्य बढाउने तयारी छ ।

अहिले सरकारमा नेपाली काङ्ग्रेसबाट प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास मन्त्री र नेकपा (एकीकृत समाजवादी) बाट नरेशकुमार शाही आर्थिक मामिला तथा योजना मन्त्री हुनुहुन्छ । अब मुख्यमन्त्रीले गठबन्धन दल माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने प्रयास गरिरहनु भएको छ । तर, गठबन्धन दल माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले लिखित सहमति भएपछि मात्रै विश्वासको मत दिने अडान राखेका छन् । 


प्रतिक्रिया